महेश बोहरा, फागुन ०४, फिनल्यान्डमा रहेका नेपाली समुदायले आइतबार पावन महाशिवरात्रि पर्व श्रद्धा, भक्ति र उत्साहका साथ भव्य रूपमा मनाएका छन्। पशुपतिनाथ समिति फिनल्यान्ड को आयोजनामा सम्पन्न कार्यक्रममा उल्लेखनीय संख्यामा भक्तजनहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात वैदिक मन्त्र उच्चारणसहित शिव रुद्राभिषेकबाट गरिएको थियो। त्यसपछि सामूहिक शिव आरती सम्पन्न गरिएको थियो, जसले सम्पूर्ण हल भक्तिमय वातावरणमा परिणत भएको थियो।

बालबालिकाहरूको सक्रिय सहभागितासहित आयोजित निबन्ध प्रतियोगिता कार्यक्रमको आकर्षक पक्ष बनेको थियो। प्रतियोगितामार्फत नयाँ पुस्तामा धर्म, संस्कृति र परम्पराप्रतिको चेतना अभिवृद्धि गर्ने प्रयास गरिएको आयोजकले बताएका छन्।
त्यसैगरी, शिव–पार्वतीको झाँकी, अखण्ड भजन कीर्तन, पञ्चाङ देवताहरूको प्रस्तुति तथा ऊर्जावान शिव ताण्डव नृत्य (Shiva Tandava Dance) ले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रममा भक्तजनहरूलाई शिव प्रसाद वितरण समेत गरिएको थियो।
समितिका पदाधिकारीहरूले प्रवासमा रहेर पनि आफ्नो धर्म र संस्कृतिको जगेर्ना गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
फिनल्यान्डजस्तो टाढाको भूमिमा पनि नेपाली समुदायको एकता र सांस्कृतिक सक्रियताले महाशिवरात्रि पर्वलाई थप अर्थपूर्ण बनाएको सहकर्मी द्रोण सापकोटाले जाबकारी दिनुभयो ।