गुल्मीको चन्द्रकोटमा राष्ट्रिय धान दिवस मनाइयो

0 113

गुल्मी असार १५  । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा गुल्मीको चन्द्रकोट गाउँपालिकामा धान रोपाइँ कार्यक्रम सम्पन्न  भएको छ ।
“जलबायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने राष्ट्रिय नारासहित चन्द्रकोट गाउँपालिकाको आयोजना तथा उदय माध्यमिक विद्यालयको कृषि तथा बालीविज्ञान विषयको समन्वयमा विद्यालयको कृषि प्रयोगात्मक खेतमा धान रोपाइँ गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज केसी,  उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी तथा  विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीय कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
धान रोपाइँसँगै कृषि क्षेत्रमा आधुनिक तथा जलबायुमैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने, युवापुस्तालाई कृषि पेशाप्रति आकर्षित गर्ने र धान उत्पादन वृद्धि गर्दै आत्मनिर्भर बन्ने सन्देश प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा धान रोप्दै राष्ट्रिय धान दिवसको महत्व उजागर गरेका थिए। स्थानीय तह, शैक्षिक संस्था र कृषकबीचको सहकार्यले कृषि उत्पादन वृद्धि तथा दिगो कृषि विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।