९ आश्विन २०७९, आईतवार
प्रेम सुनार
गुल्मी। नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लक्ष्मण पन्तले बोलीमा समाजवाद झुण्डाउने तर ब्यहारमा अर्कै गर्ने ब्यक्ति र राजनैतिक दलहरु प्रति सचेत हुनु पर्ने सुझाव दिएका छन् ।
सो पार्टी निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन गुल्मीको आठौं जिल्ला सम्मेलनको धुर्कोटमा उद्घाटन गर्दै नेता पन्तले शिक्षक नृेता कार्यकर्ताहरुलाई त्यस्तो सुझाव दिएका हुन् ।
‘हाम्रो पार्टी माओवादी केन्द्र ब्यबहारमै मुलुकमा समाजवाद ल्याउनु पर्छ भनेरै अगाडी बढेको छ’– नेता पन्तले भने –‘तर यहाँ कथनीमा समाजवाद करणीमा अर्कै गर्नेहरु छन्, उनीहरुबाट सचेत हुन जरुरी छ।’
उनले नेपालको राजनैतिक परिवर्तनको आन्दोलनमा बेग्ला बेग्लै विरासत बोकेका नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य परिवर्तन पक्षधर दलहरु बीच अहिलेको गठबन्धन सत्ता स्वार्थ संग नभई प्रतिगमन बिरुद्ध भएको बताए ।
उनले भने–‘ कांग्रेस संग हाम्रो गठबन्धन बिचार मिलेर पनि होईन, कुनै स्वार्थ बाँझिएर पनि होईन, दुई दुई पटक सांसद विघटन गर्दै ओलीको एक पछि अर्को प्रतिगन बिरुद्ध गठबन्धन गरिएको हो , जुन गठबन्धन सधैव रहन्छ भन्ने चाँही होईन ।’
बौद्धिक र पुरानो कम्युनिष्ट नेता रहेका पन्तले आज भन्दा ३० बर्ष अघि अर्घाखाँची हुँदै गुल्मी तर्फ संगठन बिस्तार गर्न आफुहरु आउँदा हाडहाडेमा कांग्रेस कार्यकर्ताहरुद्धारा ढुङ्गा प्रहार भएको स्मरण गर्दै राजनीतिमा दुश्मनी रहिनरहने धाराणा राखे ।
उनले प्रतिगमन बिरुद्ध मुलुकका थुप्रै राजनैतिक दल देखि सर्वसाधरण जनता समेत एकजुट भएको र आगामी निर्वाचनमा गठबन्धनको शानदार विजयी हुने भन्दै कार्यकर्तालाई हौसाए ।
सो पार्टीको बैदेशिक रोजगार विभाग प्रमुख तथा प्रवासी संगठन समन्व्य समितीका सह ईन्चार्ज समेत रहेका नेता पन्तले नेपालको राजनैतिक परिवर्तनमा समेत अतुलनिय योगदान पुराउँदै आएका शिक्षक वर्गहरुको साँचो अर्थमा कदर हुन नसकेको बिचार ब्यक्त गरे ।
त्यस्तै कार्यक्रमका बिशेष अतिथी एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज मानबहादुर पाण्डेले संघिय शिक्षा ऐन लागु गरेर शिक्षकहरुको समग्र माग पुरा गर्न आफुहरुको संगठन जुट्दै आए पनि शैक्षिक माफिया र बिचौलियाहरुले लागु गर्न नदिने चलखेल गरिरहेकोले बृहत शैक्षिक आन्दोलनको जरुरी रहेको बताए ।
संघिय शिक्षा ऐनले शिक्षकहरुको हकहित संरक्षण गर्ने भएकोले बर्तमान शिक्षा मन्त्री देवेन्द्र पौैड्याल र प्रधनमन्त्री शेरबहादुर देउवा समेत लागु गर्नमा सकरात्मक भएको ५१ बुँदे सहमति समेत भए पनि शैक्षिक माफियाहरु र कर्मचारीतन्त्रबाट लागु हुन नदिने षडयन्त्र भईरहेको आरोप लगाए ।
विभिन्न क्षेत्रमा वर्गिकरण हुने गरेको तर सबैतहका शिक्षकहरुलाई एउटै नजरले हेर्ने गरिएको बताउँदै माथील्लो तहका शिक्षकहरुलाई बिशिष्ट श्रेणी बनाईनु पर्नेमा पनि आफ्नो संगठनले जोड गरिरहेको उल्लेख गरे ।
बालबिकास सहयोगी, बिद्यालय कर्मचारीहरु राज्यबाटै चरम शोषणमा परिरहेको बताउँदै शिक्षक नेता पाण्डेले धुर्कोट गाउँपालिकाले संघिय सरकारलाई चुनौती दिदै उनिहरुको १५ प्रतिशत तलव बृद्धि गरेको प्रति त्यस गाउँपालिकालाई धन्यवाद दिए ।
आफुहरुकै पहलमा द्धन्द्ध पीडित शिक्षकहरुको पुनरवाहली गरिएको बताउँदै उनले शिक्षक कार्यकर्ताहरुलाई भने –‘ हामी तपाईहरुको हक हितका लागि लड्छौं तर माओवादी बिचारमा आबद्ध शिक्षकहरु अध्यापनमा कमजोर अल्छी हुन भने छुछ छैन ।
उनले देशर माओवादीले नेतृत्व गरिरहेका थुप्रै बिद्यालय नमुना बिद्यालय बनिसकेको उदाहरण देखाउँदै त्यसरी नै नमुना शिक्षक र विद्यालय बनाउनन लाग्नुहोस।’
कार्यक्रमा सो पार्टीका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज बिरबहादुर कार्की , जिल्ला संयोजक बुद्धि जिसी, लुम्बिनी प्रदेश कमिटी सदस्य निमबहादुर पाण्डे, धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल लगयतका नेताहरुले शुभकामना मन्तब्य राखेका थिए ।
सो संगठनका फ्याक्सन ईन्चार्ज तथा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य खुमबहादुर थापाका अनुसार सम्मेलनले नयाँ कार्य समितिको चयन गरेको छ र अबको केहि बेर पछि सार्वाजानिक गर्दैछ ।