महिला नेतृत्व सुनिश्चित गर्न अन्तरक्रिया

0 139

सन्तोष महतारा
गुल्मी, २३ चैत ÷ गुल्मीका स्थानीय तहमा महिला नेतृत्व सुनिश्चितताका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । सञ्चारिका समूह गुल्मीको आयोजनामा राजनीतिक पार्टीमा क्रियाशिल महिलाहरु साथै राजनीतिक नेतृत्वसँग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा गठबन्धन गर्ने दलहरुले अध्यक्ष र उपाध्यक्ष दुवै पुरुषलाई दिएर महिलालाई अवसरबाट बञ्चित गराउने डरले महिलाहरुले राजनीतिक नेतृत्वसँग अन्तरक्रिया गरेका हुन् । कार्यक्रममा जिल्लाको छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष नर्मदा भण्डारीले गठबन्धनले महिला पछि पार्न लागेको आरोप लगाइन् । एकल पार्टी चुनाब लड्दा बाध्यताले मात्र महिलालाई उपाध्यक्ष दिने, नत्र कुनै अवसर नदिने गरेको उनको भनाई थियो । गाउँपालिकाको अध्यक्षमा आफ्नो दाबेदारी रहेको उनले बताइन् ।

अधिवक्ता चथा एमाले नेतृ हिरा कुँवरले महिला र पुरुष समान भन्ने महिलाले पनि बुझ्नुपर्ने बताइन् । त्यस्तै अधिवक्ता तथा र नेपाली काँग्रेस गुल्मीकी महासमिति सदस्य पार्वती कुँवरले गाडीमा राखिने तेलदेखि ब्यक्तिको पेटमा भर्नुपर्ने तेल महिलाले जोहो गर्न नसक्ने भएकोले महिला पछि परेको भन्दै गठबन्धनमा पनि प्रमुख वा उपप्रमुख महिलालाई नदिए तल्लो तहमा हुने अनिवार्य महिला पदमा महिलाको सहभागीता नगराउने चेतावनी दिइन् । उनले महिला संघ र महिला संगठनमा पनि मिल्ने भए पुरुष नै राख्ने वर्तमान समाज महिलाको नेतृत्वमा अगाडि बढ्न नचाहेको आरोप लगाइन् ।

ad

नेकपा एमाले गुल्मीकी उपसचिव सावित्रा आचार्यले क्षमता भएका महिलाले अवसर पाउनैपर्ने बताइन् । एकीकृत समाजवादी नेतृ कमला बरालले निर्वाचनको मुखमा मात्र महिला सुनिश्चितता भनेर नहुने धारणा राखिन् । पत्रकार गगनशिला खड्काले राजनीतिक दल गैरजिम्मेवार नभएको भन्दै महिलाको सुनिश्चितता गर्नेपर्ने बताइन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले माओवादी पार्टीले नै महिला सहभागिताको एजेन्डा बोकेकोले माओवादीले पुरुष महिलालाई समान अवसर दिने बताए । काँग्रेस–माओवादी बीचमात्र गठबन्धन नभई एमालेले पनि गठबन्धन गर्न लागिरहेको बताउदै अहिलेको चुनाव खर्चिलो भएकोले पूर्ण समानुपातिक प्राणालीमा जाने एजेन्डा माओवादीले लिएको बताए । महिलालाई नेतृत्वमा पुराउन माओवादी इमानदार रहेको जिसीको भनाई रहेको छ ।

नेपाली काँग्रेस गुल्मीका सचिव धर्मराज पाण्डेले लिंगको आधारमा विभाजित हुन नहुने बताए । क्षमताका आधारमा मुल्यांकन हुने भन्दै कोेटा प्रणाली मात्र नभई खुल्ला प्रधिष्पर्धामा महिलाले नेतृत्व गर्ने ठाउँ नेपाली काँग्रेस भएकोले महिलाले क्षमता प्रस्तुत गरेमा काँग्रेस खुल्ला रहेको भनाई राखे ।

नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले राजनीति गर्नेहरू कोही असक्षम नरहेको भन्दै पुरुष महिला बराबर भएको बताए । नेकपा एमालेले महिलालाई अधिकार दिने कुरामा स्पष्ट रहेको उनको भनाई थियो ।

मेयरमा मेरो उमेदवारी ः सापकोटा

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य बिष्णु कुमारी सापकोटले मुसिकोट नगरपालिकामा आफू मेयरको उमेदवार भएको बताइन् । महिला नेतृत्वमा जान हुन भन्ने सोचको अन्त्यका लागि पनि अहिले नेपाली काँग्रेस वा गठबन्धन दुवैबाट आफू अनिवार्य मेयरकोउमेदवार भएर छाड्ने बताइन् । महिला बिनाको आन्दोलन अहिलेसम्म सफल नभएको भन्दै राजनीतिक पार्टीहरुको बोली र ब्यवहार एकैप्रकारको हुनुपर्ने भनाई राखिन् । जुनसुकै राजनीतिक दलले पनि नीति निर्माणमा महिलाको सहभागिता नगराएको उनको आरोप रहेको छ ।

अध्यक्षमा म सक्षम ः गौतम

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य ललिता गौतमले आफू अध्यक्ष पदमा सक्षम रहेको बताइन् । महिला नेतृत्वमा हुनपर्छ भन्ने आफ्नो मान्यता रहेको भन्दै नेकपा एमालेको तर्फबाट इस्मा गाउँपालिकामा आफू उमेदवार बन्ने गौतमले बताइन् । महिला अगाडि बढ्न सक्षम रहेको भन्दै हार्ने ठाउँमा महिला उमेदवार बनाएर राजनीतिक पार्टीले असक्षम बनाउन नहुने भनाई राखिन् । गठबन्धनको नाममा महिला अवसरबाट बञ्चित हुनसक्ने तर्फ केन्द्रीत गर्दै गठबन्धन भएपनि अध्यक्ष वा उपाध्यक्ष एकमा महिला हुनुपर्ने उनले बताइन् ।

कार्यक्रममा सञ्चारिका समूह गुल्मीकी अध्यक्ष गगनशिला खड्काले महिलालाई नेतृत्वमा पुराउन आफूहरुको सहकार्यमा कार्यक्रम आयोजना गरेको बताइन् । गठबन्धनको नाममा महिलालाई पछि पार्न र नेतृत्वमा पुग्न नदिनको लागि भइरहेका क्रियाकलापलाई अन्त्य गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताइन् । यसअघि देशभर ३५ हजार ४१ जना जनप्रतिनिधि छनोट हुदाँ १४ हजार ३ सय ५३ जना महिला निर्वाचित भएको खड्काले जानकारी दिइन् ।

 

 

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।