भ्रष्टाचारको विरुद्धमा अनेरास्ववियू (क्रान्तिकारी)को हस्ताक्षर अभियान

0 743

भ्रष्टाचार विरुद्ध सरकारको अभियानमा समर्थनका लागि नेकपा माओवादी निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समन्वय समिति गुल्मीले बृहत नागरिक हस्ताक्षर अभियान सम्पन्न गरेको छ ।
‘सुशासन प्रचण्ड सरकारको सरोकार, भ्रष्टाचार विरुद्ध नागरिक हस्ताक्षर’ भन्ने नाराका साथ संगठनले बुधबार रेसुङगा बहुमुखी क्याम्पस र जिल्ला प्रशासन कार्यालय अगाडि लाकुरीमञ्चमा हस्ताक्षर अभियान संचालन गरेको हो ।
क्याम्पसमा विद्यार्थी एवम् प्रध्यापकहरुको गरी ९७ र लाकुरीमञ्चमा पार्टीका जिल्ला एवम् स्थानीय नेता, कार्यक्रता एवम् सर्वसाधारणहरुको ५०७ गरी कुल ६०४ जनाको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाइएको हो ।
संगठनका जिल्ला अध्यक्ष राजन पोखरेलका अनुसार सरकारले नक्कली भुटानी शरणार्थी काण्डदेखि एक सय किलो सुन पक्राउ गर्नेसम्मको जनमुखी काम गर्दापनि केही दलका नेता र सरकारका जिम्मेवार पदाधिकारीहरुले नै गृहमन्त्री एवम् अर्थमन्त्रीको राजिनामा माग्ने गरेकोले त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि हस्ताक्षर अभियानमार्फत सरकारलाई समर्थन पत्र बुझाइएको हो ।
समर्थन पत्र ग्रहण गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक–प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरेले कार्यालयमा प्राप्त भएको पत्र र समर्थन जस्ताको त्यस्तै प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।