फिनल्यान्डमा महाशिवरात्रि विशेष कार्यक्रम सम्पन्न

0 345

महेश बोहरा, फागुन १६ ।
विभिन्न पेशा तथा व्यवसायका सिलसिलामा विदेशमा रहेर पनि नेपालीहरू सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधिमा सक्रिय रहेका छन् । नेपाली कला, संस्कृति, धर्म, र परम्परालाई बचाइराख्ने प्रयासस्वरूप फिनल्यान्डमा रहेका नेपाली समुदायले भव्य रूपमा महाशिवरात्रि विशेष कार्यक्रमको आयोजना गरेका छन् । पशुपतिनाथ आर.वाई. फिनल्यान्ड कार्यसमितिको विशेष पहलमा सम्पन्न उक्त कार्यक्रममा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको आकर्षक समायोजन गरिएको थियो। शिवरात्रिको पावन अवसरमा आयोजित कार्यक्रममा आरती, भजन, शिव–पार्वती झाँकी नृत्य, शिव ताण्डव नृत्य, विशेष भजन प्रस्तुति, अतिथि सम्मान, उपसमितिहरूको प्रस्तुति तथा भक्तजनहरूसँग अन्तरक्रिया जस्ता विविध धार्मिक गतिविधिहरू समावेश गरिएका थिए ।

संस्थाका उपाध्यक्ष द्रोण सापकोटाका अनुसार फिनल्यान्डमा रहेका नेपालीहरूले मातृभूमिसँगको सम्बन्ध कायम राख्दै धार्मिक र सांस्कृतिक परम्परालाई निरन्तरता दिन यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएका छन् । उनले भने, “हामी जहाँ भए पनि आफ्नो धर्म, संस्कृति, र पहिचानलाई जोगाउने जिम्मेवारी सबै नेपालीहरूको हो । यस्ता कार्यक्रमहरूले हामीलाई मात्र होइन, हाम्रा सन्ततिहरूलाई पनि आफ्नै संस्कृति र परम्पराको ज्ञान दिन मद्दत गर्छ।”


कार्यक्रममा फिनल्यान्डमा रहेका सयौँ नेपालीहरूले उत्साहपूर्वक भाग लिएका थिए । धार्मिक आस्थाका कारण मात्र नभई नेपाली समुदायभित्रको एकता, आपसी मेलमिलाप, र सद्भाव प्रवद्र्धन गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने सहभागीहरूको भनाइ थियो । कार्यक्रममा सहभागी एक भक्तजनले भने, “विदेशमा रहेर पनि यस्तो धार्मिक कार्यक्रम गर्न पाउनु अत्यन्तै हर्षको कुरा हो । शिवरात्रिको अवसरमा आरती, भजन, र शिव ताण्डव जस्ता कार्यक्रमहरू हेर्दा नेपालमै रहेको अनुभूति भयो।”

ad

पशुपतिनाथ आर.वाई. फिनल्यान्ड कार्यसमितिले यसअघि पनि विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गरिसकेको छ । संस्थाले आगामी दिनमा पनि यस्तै धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै जाने जनाएको छ । उपाध्यक्ष सापकोटाका अनुसार नेपाली समुदायलाई एकताबद्ध गर्दै धर्म, संस्कृति, र सामाजिक सेवामा योगदान दिने संस्थाको लक्ष्य रहेको छ । यस प्रकारको धार्मिक तथा सांस्कृतिक कार्यक्रमले विदेशमा रहेका नेपालीहरूबीच आपसी सम्बन्ध प्रगाढ बनाउनुका साथै आफ्नो पहिचान जोगाउने अभियानमा टेवा पुर्याउने विश्वास गरिएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।