महेश बोहरा, भाद्र ४ गुल्मी
जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ स्थित बिशुखर्क स्वास्थ्य चौकीमा अब देखि विशेषज्ञ चिकित्सकहरूद्वारा नि:शुल्क स्वास्थ्य परिक्षण हुने भएको छ ।
प्रत्येक महिनाको अन्तिम शनिबार बिहान १० बजेदेखि निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सञ्चालन हुने वडाध्यक्ष कमल केसीले जानकारी दिनुभयो । यस कार्यक्रममा विभिन्न विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गर्ने, निःशुल्क औषधि वितरण गर्ने र आवश्यक परामर्श दिने व्यवस्था गरिएको उहाँको भनाइ छ ।
निम्न सेवाहरु उपलब्ध हुने छन ।
• सुगर, प्रेसर, थाइराइड, मुटु तथा छाती रोग परीक्षण
• हाडजोर्नी तथा नसा रोग उपचार
• महिला, प्रसूति तथा स्त्री रोग परामर्श
• मानसिक रोग परामर्श
• छाला तथा यौन रोग उपचार
• बालरोग उपचार
• आँखा शिविर
• निःशुल्क औषधि वितरण तथा परामर्श
वडाध्यक्ष कमल केसीले भन्नुभयो — “विशेषज्ञ डाक्टरहरूद्वारा स्वास्थ्य परीक्षण हुने भएकाले यसबाट चन्द्रकोट–२ मात्र नभई अन्य वडाका नागरिकले पनि सहज रुपमा स्वास्थ्य सेवा लिन सक्नेछन्।”
केसीले यस कार्यक्रमले गाउँकै ढोकामा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुने भएकाले अब स्थानीयलाई सानो रोगोपचारका लागि टाढा धाउन नपर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वडा कार्यालयले ‘स्वस्थ गाउँ, समृद्ध गाउँ’ बनाउने उद्देश्यका साथ यो अभियानलाई निरन्तरता दिने पनि बताउनुभयो । यस अभियानले गाउँबासीकै घरआँगनमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने विश्वास लिइएको छ।