महाशिवरात्रिमा दिब्रुङ्गमा भव्य भजन महोत्सवको आयोजना

प्रथम पुरस्कार ४५ हजार रुपैयाँ र प्रमाणपत्र, द्वितीय पुरस्कार ३५ हजार रुपैयाँ र प्रमाणपत्र, तृतीय पुरस्कार २५ हजार रुपैयाँ र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, पुरस्कार प्राप्त नगरेका सहभागी समूहलाई दूरीको आधारमा न्यूनतम २ हजारदेखि अधिकतम ७ हजार रुपैयाँसम्म यातायात खर्च उपलब्ध गराइने आयोजकले जनाएको छ। समूह दर्ता निःशुल्क गरिएको छ र निर्धारित मितिभित्र फोनमार्फत दर्ता गर्न सकिने व्यवस्था छ।

0 106

महेश बोहरा, माघ २२, गुल्मीको पवित्र धार्मिक स्थलमा यस वर्षको महाशिवरात्रि विशेष बनाउने तयारी तीव्र पारिएको छ। चन्द्रकोट गाउँपालिका–१, दिब्रुङ्गस्थित श्री लोकेश्वर महादेव मन्दिर परिसरमा फागुन ३ गते विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित “बृहत् भजन महोत्सव” आयोजना हुने भएको हो। लोकेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुन लागेको महोत्सवले जिल्लामा धार्मिक चेतना र सांस्कृतिक एकता थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार महाशिवरात्रिको पावन अवसर पारेर लघुरुद्रीपाठ, रथयात्रा, साँझकालीन आरती तथा रात्रीकालीन शिवमहाआरती गरिनेछ। बिहान ६ः३० बजेदेखि धार्मिक कार्यक्रम सुरु भई दिनभर श्रद्धालुहरूको सहभागिता रहनेछ भने साँझ ५ः३० देखि ७ः०० बजेसम्म साँझकालीन शिवमहाआरती र राति ७ः०० बजेदेखि भजन कार्यक्रम सञ्चालन गरिनेछ। राति १२ बजे विशेष शिवमहाआरतीसँगै कार्यक्रम समापन गरिने जनाइएको छ।
महोत्सवको मुख्य आकर्षणका रूपमा भजन प्रतियोगिता राखिएको छ। प्रतियोगितामा सहभागी समूहमा अधिकतम १२ जना सदस्य रहन सक्नेछन्। प्रस्तुति अधिकतम २० मिनेटको हुनेछ र धार्मिक विषयवस्तुमा आधारित हुनुपर्नेछ। सहभागी समूहले आवश्यक बाजा–गाजा तथा सामग्रीको व्यवस्था आफैं गर्नुपर्ने प्रावधान राखिएको छ भने धर्म–संस्कृतिअनुसारको भेषभूषा, शब्द, लय, भाव र मौलिकतालाई विशेष प्राथमिकता दिइनेछ।


प्रतियोगिताका विजेताहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम पुरस्कार ४५ हजार रुपैयाँ र प्रमाणपत्र, द्वितीय पुरस्कार ३५ हजार रुपैयाँ र प्रमाणपत्र, तृतीय पुरस्कार २५ हजार रुपैयाँ र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, पुरस्कार प्राप्त नगरेका सहभागी समूहलाई दूरीको आधारमा न्यूनतम २ हजारदेखि अधिकतम ७ हजार रुपैयाँसम्म यातायात खर्च उपलब्ध गराइने आयोजकले जनाएको छ। समूह दर्ता निःशुल्क गरिएको छ र निर्धारित मितिभित्र फोनमार्फत दर्ता गर्न सकिने व्यवस्था छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार महोत्सवले धार्मिक पर्यटन प्रवद्र्धनका साथै स्थानीय कलाकारलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। “महाशिवरात्रि केवल पूजा–आराधनाको दिन मात्र होइन, हाम्रो मौलिक संस्कृतिलाई जोगाउने अवसर पनि हो,” उहाँले भन्नुभयो।
गुल्मी जिल्लाको धार्मिक पहिचान बोकेको लोकेश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष महाशिवरात्रिमा हजारौं भक्तजनको उपस्थिति रहने गर्दछ। यस वर्षको बृहत् भजन महोत्सवले दिबु्रङ्ग क्षेत्रलाई अझै धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण भक्तजन तथा भजन समूहलाई उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ। चन्द्रकोट गाउँपालिका र वडा नम्बर १ कार्यालयले कार्यक्रमलाई सफल बनाउनका लागी आर्थिक सहयोग गरेको जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।