महेश बोहरा, फाल्गुन ०४ गुल्मी। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि गुल्मी निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सुदर्शन बरालले विकासकेन्द्रित विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
राजनीतिक आन्दोलनदेखि गणतन्त्र स्थापना, संघीयता कार्यान्वयन र लुम्बिनी प्रदेश सरकारमा सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव उल्लेख गर्दै बरालले अब गुल्मी–१ लाई पूर्वाधार, कृषि, पर्यटन र रोजगारीको आधारमा आत्मनिर्भर क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन्।
गुल्मी–१ अन्तर्गत रेसुङ्गा नगरपालिका (७–१४ वडाहरु),
गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र, कालीगण्डकी, सत्यवती र चन्द्रकोट गाउँपालिकाका ५० वडालाई समेटेर समग्र विकासको खाका सार्वजनिक गरिएको छ।
रणनीतिक सडक र पुल निर्माणलाई पहिलो प्राथमिकता
बरालले कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अन्तर्गतका निर्माणाधीन सडकहरू समयमै सम्पन्न गर्ने, स्तरोन्नति गर्ने तथा आवश्यक स्थानमा थप पुल निर्माण गर्ने घोषणा गरेका छन्।
रिडी–रुद्रवेणी–पुर्तिघाट, खज्याङ–चारपाला–गौडाकोट, बरेङ–मजुवा–शान्तिपुरलगायतका सडकलाई कालोपत्रे गरी बाह्रै महिना यातायात सञ्चालन सुनिश्चित गरिने योजना छ। साना तथा ठूला झोलुङ्गे पुल निर्माणमार्फत दुर्गम बस्तीलाई सहज आवतजावतको सुविधा दिने लक्ष्य लिइएको छ।
कृषि आधुनिकीकरण र किसानको सुरक्षा
कृषि र पशुपालनलाई ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मान्दै बरालले किसान बीमा, किसान पेन्सन, सहुलियत कर्जा तथा चक्रीय कृषि प्रणाली विस्तार गर्ने नीति अघि सारेका छन्। कीवी, सुन्तला, कफी, उखु, कागती जस्ता नगदेबाली विस्तार तथा कृषि प्रशोधन उद्योग स्थापना गरी उत्पादनलाई बजारसँग जोड्ने प्रतिबद्धता जनाइएको छ। जंगली जनावर नियन्त्रणका लागि नीति निर्माण गर्ने तथा बाख्रा, बंगुर, कुखुरा र दुग्ध व्यवसायलाई प्राथमिकता दिने योजना पनि सार्वजनिक गरिएको छ।
सिंचाइ र नदी नियन्त्रणमार्फत उत्पादन वृद्धि
खज्याङखोला, रिडीखोला, कालीगण्डकी किनारलगायतका क्षेत्रमा तटबन्ध निर्माण र व्यवस्थित सिंचाइ विस्तार गरिनेछ।
रामपुर, मजुवा, रुद्रवेणी, खैरेनीलगायत उर्वर फाँटहरूमा प्रभावकारी सिंचाइ कार्यक्रम सञ्चालन गरी कृषि उत्पादन बढाइने लक्ष्य राखिएको छ।
धार्मिक र प्राकृतिक पर्यटनको गुरुयोजना
गुल्मी–१ का ऐतिहासिक, धार्मिक र प्राकृतिक धरोहरलाई योजनाबद्ध रूपमा विकास गरिने बरालको प्रतिबद्धता छ। रुरुक्षेत्रधाम, रेसुङ्गा क्षेत्र, सत्यवती क्षेत्र लगायतका धार्मिक क्षेत्रलाई पर्यटन सर्किटमा जोड्ने योजना छ। सामुदायिक होमस्टे प्रवर्द्धन, पदमार्ग विस्तार, साहसिक पर्यटन (रक क्लाइम्बिङ, जिपलाइन) विकासमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।
शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सुधार
सामुदायिक क्याम्पस र विद्यालयहरूको भौतिक पूर्वाधार सुदृढीकरण, शिक्षकहरूको पेशागत सुरक्षा र प्राविधिक शिक्षाको विस्तार गरिनेछ। तम्घास अस्पताल सुदृढीकरण, रुरु, जुहाङ, गुल्मीदरबार, चन्द्रकोट लगायतका आधारभूत अस्पताल स्तरोन्नति र शीघ्र सञ्चालनमा ल्याइने योजना सार्वजनिक गरिएको छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी र सर्वसुलभ बनाइने प्रतिबद्धता जनाइएको छ।
खानेपानी, विद्युत् र समावेशी विकास
उचाइका बस्तीमा लिफ्टिङ खानेपानी, “एक घर–एक धारा” कार्यक्रम कार्यान्वयन तथा विद्युत् नपुगेका बस्तीमा निःशुल्क विद्युतिकरण सहज बनाइने योजना छ। महिला, दलित, जनजाति, अपाङ्गता भएका नागरिक तथा अल्पसंख्यक समुदायमैत्री नीति निर्माणमा विशेष जोड दिने बरालको भनाइ छ।
युवालाई स्वदेशमै अवसर
युवालाई विदेश पलायनको बाध्यताबाट मुक्त गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाइनेछ। प्रत्येक पालिकामा रंगशाला निर्माण, खेल मैदान स्तरोन्नति र सफल खेलाडीलाई सम्मान तथा प्रोत्साहन नीति ल्याइने योजना सार्वजनिक गरिएको छ।
अन्त्यमा बरालले आफूलाई “गुल्मी–१ को सेवक”का रूपमा प्रस्तुत गर्दै विकास, समृद्धि र रोजगारीको साझा सपना पूरा गर्न मतदातासँग विश्वासको मत मागेका छन्।
उननले आफ्नो प्रतिबद्धता कागजमा सीमित नभई व्यवहारमा कार्यान्वयन हुने दाबी गरेका छन्।