गुल्मी, जेठ २३
गुल्मीको चन्द्रकोट गाउँपालिका–५ ग्वाघामा अध्ययनरत विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सोमबार एक कार्यक्रमका बीच सामग्री वितरण गरिएको हो।
चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघाको आयोजनामा वडाभित्र रहेका पाँचवटा विद्यालयका ६४ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष पृथबहादुर कार्कीले जानकारी दिनुभयो।
सामग्री प्राप्त गर्ने विद्यालयहरूमा ग्वाघा माध्यमिक विद्यालय, हिमालय आधारभूत विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, सन्तोषी आधारभूत विद्यालय र देवीस्थान आधारभूत विद्यालय रहेका छन्। ती विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा सहयोगको आवश्यकता भएका विद्यार्थीलाई छनोट गरी सामग्री वितरण गरिएको जनाइएको छ।

विद्यार्थीलाई झाेला, कापी, डटपेन, पेन्सिल, कलर, ज्यामिती बक्स लगायत अध्ययनका लागि आवश्यक सामग्री वितरण गरिएको थियो। शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए।
वडा अध्यक्ष कार्कीका अनुसार उक्त कार्यक्रम वडाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको छ। गत स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले गरेका प्रतिबद्धताअनुसार कार्यक्रमलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो।
“विपन्न भएकै कारण कुनै पनि बालबालिका शैक्षिक गतिविधिबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौं,” वडा अध्यक्ष कार्कीले भन्नुभयो, “यसबाट आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई राहत पुग्नुका साथै अध्ययनप्रति थप उत्साह मिलेको छ।”
स्थानीय शिक्षक तथा अभिभावकहरूले वडाको पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको शैक्षिक निरन्तरतामा सकारात्मक प्रभाव पार्ने बताएका छन्। आर्थिक अभावका कारण शैक्षिक सामग्री जुटाउन कठिनाइ भोगिरहेका परिवारका लागि यो कार्यक्रम उपयोगी बनेको उनीहरूको भनाइ छ।
शिक्षामा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ चन्द्रकोट गाउँपालिका–५ ग्वाघाले सञ्चालन गर्दै आएको यो कार्यक्रमले विपन्न विद्यार्थीलाई प्रत्यक्ष रूपमा सहयोग पुर्याएको स्थानीयवासीले बताएका छन्।