गुल्मी, असार १६ — गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ५ ग्वाघाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत ग्वाघा माध्यमिक विद्यालयमा शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका पदाधिकारीहरूका लागि शैक्षिक अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज केसी, उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, वडा नं. ५ ग्वाघाका वडाध्यक्ष पृथबहादुर कार्की लगायत जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा मुख्य प्रशिक्षक ऋषीराम न्यौपाने तथा प्रशिक्षक लालप्रसाद पङ्गेनीले सहभागीलाई उत्प्रेरणा, शिक्षण सिकाइको गुणस्तर, विद्यालय व्यवस्थापनमा समन्वय तथा सकारात्मक सोचको विकास सम्बन्धी प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकबीचको सहकार्यले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष युवराज केसीले गुणस्तरीय शिक्षाको आधार सक्षम शिक्षक, जिम्मेवार अभिभावक र सक्रिय विद्यालय व्यवस्थापन समिति भएको उल्लेख गर्दै यिनै पक्षबीचको सहकार्यबाट मात्रै विद्यालयको समग्र शैक्षिक अवस्था सुधार गर्न सकिने बताए। उनले गाउँपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै यस्ता अभिमुखीकरण कार्यक्रमले सहभागीलाई थप जिम्मेवार र उत्प्रेरित बनाउने विश्वास व्यक्त गरे।
उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले विद्यालयलाई केवल पठनपाठनको केन्द्र मात्र नभई असल नागरिक उत्पादन गर्ने थलोका रूपमा विकास गर्नुपर्ने धारणा राख्दै शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनबीच निरन्तर समन्वय आवश्यक रहेको बताए।
त्यसैगरी वडा अध्यक्ष पृथबहादुर कार्कीले वडा स्तरबाट शिक्षाको विकासका लागि आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयको शैक्षिक वातावरण सुधार र विद्यार्थीको सिकाइ उपलब्धि बढाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका पदाधिकारीहरूले प्रशिक्षण उपयोगी र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए।
