बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको लियो वर्ष २०२६/२०२७ का लागि नयाँ कार्यसमिति चयन भएको छ । क्लबको अध्यक्षमा लियो लक्ष्मण खनाल निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा लियो कबिराज भुसाल चयन हुनुभएको छ ।
त्यस्तै नयाँ कार्यसमितिमा द्वितीय उपाध्यक्षमा खिम थापा, सचिवमा कुशल पाण्डे, कोषाध्यक्षमा विशाल खनाल, लायन्स को-अर्डिनेटरमा मनोज पाण्डे तथा मेम्बरसिप चेयरपर्सनमा अरुना पछाई चयन हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष लियो लक्ष्मण खनालको नेतृत्वमा गठित कार्यसमितिले शिक्षा, स्वास्थ्य, रक्तदान, वातावरण संरक्षण, विपद् व्यवस्थापन, युवा नेतृत्व विकास तथा मानवीय सेवाका कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी ढंगले सञ्चालन गर्ने लक्ष्य लिएको जनाउनुभएको छ ।
यसैबीच, उपाध्यक्ष लियो कबिराज भुसालले क्लबका सेवामूलक गतिविधिलाई बुटवलमा मात्र सीमित नराखी अर्घाखाँची, गुल्मी र पाल्पा जिल्लासम्म विस्तार गर्ने योजना रहेको बताउनुभयो ।
स्थानीय तह, सामाजिक संघसंस्था तथा समुदायसँग सहकार्य गर्दै स्वास्थ्य शिविर, शैक्षिक सहयोग, वृक्षारोपण, सरसफाइ, रक्तदान तथा अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
क्लबका पदाधिकारीहरूले नयाँ कार्यसमितिको नेतृत्वमा “सेवा, नेतृत्व र मित्रता” को भावनालाई आत्मसात् गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने, युवालाई सेवामार्फत नेतृत्व विकासमा प्रेरित गर्ने तथा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीलाई सेवामूलक संस्थाका रूपमा अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन् ।
यस अवसरमा क्लबका पूर्व अध्यक्षहरूले नवनिर्वाचित अध्यक्षसहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै क्लबको गरिमा, एकता र सेवाभावलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएकोछ ।