असार २२, गुल्मी। छत्रकोट गाउँपालिकाको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरी पाँच शय्याको छत्रकोट आधारभूत अस्पतालका रूपमा सञ्चालनमा ल्याइएको छ। १५ शय्याको पालिका अस्पताल निर्माण प्रक्रिया जग्गा व्यवस्थापन र अन्य प्रशासनिक जटिलताका कारण ढिलाइ भएपछि तत्काल स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्रलाई नै आधारभूत अस्पतालमा रूपान्तरण गरिएको हो।
नयाँ अस्पतालबाट अब २४सै घण्टा आकस्मिक सेवा, बहिरंग (ओपिडी), सुरक्षित प्रसूति, प्रयोगशाला, एक्स–रे, इसिजी, दन्त सेवा, खोप तथा फार्मेसीलगायतका आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुनेछन्।
अस्पताल प्रमुख डाक्टर नारायण न्यौपानेका अनुसार आवश्यक आधारभूत सेवा र जनशक्ति व्यवस्थापन पूरा भएपछि स्वास्थ्य केन्द्रलाई पाँच शय्याको आधारभूत अस्पतालका रूपमा सञ्चालन गरिएको हो।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले अस्पताल सञ्चालनसँगै स्थानीय नागरिकले थप प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै पालिकाबाट पाउने बताए। उनका अनुसार अस्पतालमा दुई मेडिकल अधिकृत, तीन हेल्थ असिस्टेन्ट, चार अहेव, तीन अनमी, तीन ल्याब असिस्टेन्ट, एक स्टाफ नर्स र चार कार्यालय सहयोगी कार्यरत छन्।
प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले अस्पताललाई थप सुविधासम्पन्न बनाउन आवश्यक जनशक्ति, उपकरण र स्रोत–साधन व्यवस्थापनका लागि प्रदेश तथा संघ सरकारसँग समन्वय गरिने बताए।
गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले पालिका अस्पताल निर्माणको दीर्घकालीन योजना यथावत रहेको उल्लेख गर्दै जग्गा प्राप्ति तथा अन्य कानुनी प्रक्रियाका कारण निर्माण कार्य ढिलाइ भए पनि सेवा विस्तारलाई प्राथमिकता दिँदै पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको बताए। उनले आगामी दिनमा १५ शय्याको पालिका अस्पताल निर्माण प्रक्रिया निरन्तर अघि बढाइने र स्वास्थ्य सेवा अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।