गुल्मीमा १५ मतदान स्थल अति संवेदनशील

0 101
सन्तोष महतारा
गुल्मी, बैशाख १२ । गुल्मीमा १५ मतदान स्थल अति संवेदनशील छन् । २ नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा १५ मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ ।
जिल्लाको कालीगण्डकी, मालिका, मदाने, सत्यवती र चन्द्रकोट गाउँपालिकाका १५ वटा मतदान स्थलहरू अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ । यस्तै, ४१ वटा मतदान स्थलहरू संवेदनशील र ८६ वटा मतदान स्थलहरू सामान्य रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
ad
संवेदनशील स्थलहरूमा सुरक्षा लगायत अन्य हिसाबले पनि सबै प्रबन्ध मिलाइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए । शान्ति सुरक्षाका हिसाबले आफूहरूले सबै प्रबन्ध मिलाएको र निर्वाचनलाई भयरहित बाताबरणमा सम्पन्न गर्नका लागि आफूहरू सक्षम रहेको पौडेलले दाबी गरे । मतदान स्थलहरूलाई वर्गिकरण गर्दा भुगोल, यातायात, जिल्लागत सीमा लगायतका विषयहरूलाई आधार मानेर वर्गिकरण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा कुल १ सय ४२ मतदान स्थल रहेका छन् । जिल्लामा मतदान केन्द्र २ सय ७९ रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा सबैभन्दा कम इस्मा गाउँपालिकामा ८ वटा मतदान स्थल छन् । सबैभन्दा बढी सत्यवती गाउँपालिकामा १६ मतदान स्थल रहेको निर्वाचन कार्यालयका मेघलाल पाण्डेले जानकारी दिए ।
कालीगण्डकी र मदाने गाउँपालिकामा १०/१०, गुल्मीदरबार, रुरुक्षेत्र र मालिका गाउँपालिकामा ११/११, चन्द्रकोट गाउँपालिकामा १४ तथा छत्रकोट गाउँपालिकामा १० मतदान स्थल रहेका छन् । त्यस्तै धुर्कोट गाउँपालिकामा ११ वटा, मुसिकोट र रेसुंगा नगरपालिकामा १५/१५ वटा मतदान स्थल रहेको पाण्डेले बताए । गुल्मीमा कुल २ लाख २४ हजार २ सय ७६ मतदाता रहेको कार्यालयले जनाएको छ । जसमा महिला १ लाख १४ हजार २ सय ५१ र पुरुष १ लाख १० हजार ५९ रहेका छन् । जिल्लामा २ जना अन्य मतदाता रहेको कार्यालयले जनाएको छ ।
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।