मतदाता शिक्षा प्रभावकारी बनाउन गुल्मीको धुर्कोटमा नमूना मतदान

0 190

अनिल खत्री
२२ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागी गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा नमूना मतदान सम्पन्न भएको छ । मतदाता शिक्षा प्रभावकारी बनाउन र बदर मत कम गर्न भन्दै जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्लाको नमुना मतदान गरेको हो । मतदानमा धुर्कोट गाउँपालिकाका ८५ वर्षका ढुण्डीराज भण्डारीले मतदान गरेर शुभारम्भ गरिएको थियो । नमुना मतदानमा निर्वाचन गुल्मीले मतदातालाई निर्वाचनमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापन लगायतका विषयमा मतदाताहरुलाई जानकारी गराएको थियो । मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाहरुको लाइन मिलाउने, मतदाता परिचय पत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारहरूलाई मत दिन सिकाइएको थियो । नमूना मतदान कार्यक्रममा धुर्कोट गाउँपालिका भित्रका ९० जना स्थनीयले सहभागिता जनाएको धुर्कोट गाउँपालिका निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन् । मतदान बिहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन भएको थियो । मतदानमा कुल खसेका ९० मत मध्ये १२ वटा म तबदर भएको र ७८ वटा मतपत्र सदर भएको निर्वाचन अधिकृत पौडेलले बताइन् ।


मतदातालाई स्वस्तिक छाप लगाए पश्चात मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो । नमुना मतदानमा सहभागीहरूले अन्य व्यक्तिहरूलाई मतदान गर्न सिकाउने र जिल्लामा कम मत बदर हुने अवस्था सिर्जन गर्न खोजिएको जिल्ला निर्वाचन अधिकारी माया कुँवर जानकारी दिइन् । सदरमुकाम भन्दा बाहिर ग्रामीण वस्तीमा मतदता शिक्षालाई प्रभावकारी बनाउन कार्यक्रम गरिएको कुँवरले बताइन । १२ वटा स्थानीय तह रहेको जिल्लामा एउटा स्थानमा मात्रै नमूना मतदान गर्ने कार्यक्रम रहेको छ ।


सोहि अवसरमा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडलले निर्वाचन आचारसंहिता र निर्वाचन शिक्षाका बारेमा मतदान स्थलमा आएका मतदाताहरुलाई जानकारी गराएका थिए । नमुना मतदान कार्यमा प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय रेडक्रस, युवा क्लबका स्वयंसेवक, नागरिकसमाज र सरोकारवालाहरुको उत्साहजक उपस्थिति रहेको छ । स्थानीय तह निर्वाचनको लागि जिल्लामा २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन् ।
निर्वाचनको लागि १ सय ४२ मतदान स्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गुल्मीमा ४ सय ८९ जनप्रतिनिधि निर्वाचित हुने भएका छन् । जसका लागि १ हजार २४३ जनाको उम्मेवारी परेको छ ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।