- गुल्मी – बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचन आउन अव केही दिन मात्र बाँकी छ। उम्मेदवारहरु आआफ्ना चुनाव चिन्ह लिँदै जनताको घरदैलोमा पुग्दै गाँउ समृद्धि पार्ने योजनाको फेहरिस्त सुनाइरहेका भेटिन्छन्। यीनै मध्येका एक हुन् गुल्मी चन्द्रकोट गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका युवराज केसी । अहिले गठबन्धनका तर्फबाट चन्द्रकोट गाउँपालिका अध्यक्ष पदका साझा उम्मेदवारको रुपमा चुनाबी प्रतिस्पर्दामा उत्रिएका छन । केसीसँग अभावको पृष्ठभुमि छ,त्यसैले उनी आफ्नो गाउँका हरेक अभावबाट गुज्रिएका परिवारको लागि रोजगारी कसरी दिलाउने भनेर चिन्तित छन्। उनी उमेरमा युवा हुन् त्यसैले उनी चाहन्छन् आफ्नो गाँउमा नमुना योग्य केही परिवर्तन गरौ। उनी १० बर्षे जनयुद्धमा सहभागी एक लडाकु हुन् त्यसैले उनी दावी गर्छन् उनीसँग जस्तो गाउँलाई समृद्धिको योजनामा लैजान सक्ने खुवी अरुमा छैन।
उनका दौंतरीहरु धेरै पैशा कमाएर परिवारलाई सुखी बनाउन केही अमेरिका छिरेका छन्। कोही क्यानाडा पुगेका छन्। त्यतिमात्र होइन, धेरै सहपाठीहरु भारतीय सेनामा जागिर गरेर पेन्सन पकाउने अवस्थामा पुगेका छन्। तर उनी आफ्नो परिवारको सुखको लागि मात्र सोचेर बसेनन्, आफूजस्तै गरिव प वारका लागि राज्यले दिएको अधिकार प्राप्त गर्नका लागि उनी आफ्ना व्यक्तिगत सपना, परिवारका अभाव र भोलीको भविष्य केही नसोची युद्धमा होमिएका एक पात्र हुन्। उनी केही गर्न चाहन्छन् आफ्नो गाउँको लागि । तर त्यसको लागि एक्लैले गरेर केही हुँदैन भन्ने उनलाई थाहा छ, त्यसैले चुनावी दौडाहामा छन्। अध्यक्ष पदमा जितेर उनी आफ्नो गाँउ आफै बनाऔं भन्दै गाँउकै बिकाशमा जुट्ने बताउँछन्। उनी भन्छन्— म आफ्नो लागि होइन जनताको लागि बाँच्न चाहन्छु।
कष्टमा बितेको बाल्यकाल, जेलदेखि जनयुद्धको सिपाहीसम्म
उनी सानै देखि सामाजिक कार्यमा सक्रिय हुन्थे। गाउँमा रहेको सरस्वती निमाबिमा पढ्ने युवाहरु मिलेर उनकै अगुवाइमा सरस्वती युवाक्लव गठन गरेका थिए। साँस्कृतिक कार्यक्रम र बिभिन्न प्रतियोगिताहरु आयोजना गरेर समाज परिवर्तनका गीत गाउन लगाउने युवराज अन्ततः मुक्ति या मृत्युको कसम खाँदै आफै परिवर्तनको लडाईमा होमिए।
किसान परिवारमा जन्मिएका उनी सानैदेखि मेघाबी थिए। कक्षामा सधैं प्रथम हुने उनको लागि परिवारले कुनै फिस बुझाउनु पर्दैनथ्यो। बरु उल्टै उनले सवै फिस कटाएर छात्रबृत्ति मार्फत पाएको रकम आमाको हातमा राखिदिन्थे। ०५३सालमा उनले आफैले पढेको स्कुलमा पढाउने जागिर पाए। यसले परिवारमा केही राहत दिलायो। बिहानभरी शान्तिपुरमा भर्खरै खुलेको प्लस टुमा पढ्ने र दिउँसो एक घन्टाको उकालो बाटो चढेर आफ्नै गाँउ वलिवाङमा रहेको सरस्वती निमाविमा पढाउने गर्थे उनी। त्यसै समयमा देशमा जनयुद्धको लहर चलेको थियो। उनी पनि सवै मानिस बराबर हुने व्यवस्था ल्याउनका लागि तत्कालिन नेकपा माओवादीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीमा संगठित भएर भुमिगत रुपमा काम गर्न थाले।
माओवादी राजनितिक गतिविधिमा सहभागी भएको आरोपमा उनी प्रशासनबाट पक्राउ परे। उनलाई सदरमुकाम तम्घासको कारागारमा जेल चलान गरियो। राजनीतिक आस्थाको आधारमा उनलाई ०५५ असारदेखि ०५७ बैशाखसम्म थुनामै राखियो। जेल मुक्त भएपछि उनी सोझै पार्टी सम्पर्कमा पुगे। घरमा स साना भाइबहिनी थिए। आमा वुवा गरिव किसानभएको कारण बर्षका ६ महिना उनको परिवार चरम भोकमरीबाट गुज्रिनुपर्दथ्यो तर पनि यो समस्या आफ्नो परिवारको मात्र नभएर सिंगो गरिखाने बर्गको समस्या हो भनेर उनी जनयुद्धमा लामबद्ध भएका थिए।
युद्धकालमा गुल्मीका सदरमुकाम आसपासका श्वेत इलाकामा संगठनको काम गरेका केसीले पार्टी शान्तिप्रकृयामा आएपछि बिगत १० बर्षदेखि सर्वदलिय समितीको संयन्त्रमा रहेर काम पनि गरेका छन । उनी शान्ति समिती गुल्मीको संयोजकको रुपमा र बिभिन्न बिकाश निर्माणका योजना अनुगमन समितीमा रहेर समेत काम गरेका छन्।
गुल्मीका अन्य राजनैतिक दलका नेता कार्यकर्ता मात्र होइन सरकारी संयन्त्रसँग समेत भिजेर काम गर्ने खुवी भएका उनै युवराज यो पटकको स्थानीय तह चुनावमा गुल्मीको चन्द्रकोट गाँउपालिकाको अध्यक्षमा गठबन्धनका तर्फ देखि साझा उम्मेदवार बनेका छन्। ४० बर्षको युवा उमेरका उनी गाँउमा बिकाश निमार्णको मुल फुटाउन चाहन्छन्। अध्यक्षमा निर्वाचित भएमा नयाँ जोश र जाँगरका साथ काम गरेर नतिजा देखाउने र चन्द्रकोटलाई समृद्ध चन्द्रकोट बनाउने अठोटका साथ यतिवेला उनी भोट माग्दै जनताको घरदैलोमा पुगिरहेका छन्।
प्लस टु सम्मको अध्यन पनि पुरा गर्न नपाइकन राजनीतिमा होमिएका उनले रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा समाजशास्त्रमा स्नातक र बुटवल बहुमुखी क्याम्पसबाट कानुन बिषयमा स्नातकोत्तर गरेका छन । साहित्यिक, वैचारिक र राजनैतिक चेत भएका उनी सम्बृद्ध चन्द्रकोट निमार्ण गदै वेरोजगार युवायुवतीका लागि रोजगारीको सिर्जना गर्ने र बैदेशिक रोजगारीबाट आएको पैशाको उचित सदुपयोगका लागि योजना बनाउने जस्ता महत्वाकाँक्षी योजनाका साथ चुनावी दौडाहामा लागेका छन्। उपाध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका साझा उम्मेदबारका रुपमा बिष्णुप्रसाद भण्डारी लगायतका नेता कार्यकर्ताहरु घरदैलो कार्यक्रममा ब्यस्त छन। चन्द्रकोट गाँउपालिकामा नेकपा एमालेका तर्फबाट जिल्ला समन्वय समितिका सदस्य चेतन बस्नेत अध्यक्षका दावेदार हुन्। यस्तै उपाध्यक्षमा एमालेले फेरी पनि राधिका अर्याललाई दोराएको छ ।