रेसुङ्गावासीको मर्म र भावनाविपरीत काम नगर्न कर्मचारीलाई नगरप्रमुख पन्थीको निर्देशन

0 289

 

सन्तोष महतारा
गुल्मी, ७ जेठ गुल्मीको रेसुङ्गा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख खिलध्वज पन्थीले नगरपालिका अन्तर्गतका कर्मचारीहरूलाई नगरवासीको मर्म र भावना विपरीत काम नगर्न निर्देशन दिएका छन् । नेपाली काँग्रेस गुल्मीका सभापति समेत रहेका पन्थीले शुक्रबार नगरप्रमुखको पदभार ग्रहण गरेपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा कर्मचारीहरूलाई रेसुङ्गावासीको मर्म र भावना विपरीत काम नगर्न निर्देशन दिएका हुन् । जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट मात्र आम जनताको हितमा काम गर्न सकिने नवनिर्वाचित नगरप्रमुख पन्थीले बताए । “हामी राजनीतिक नेतृत्वले सुन्दर नगरपालिका बनाउन सुन्दर सपना देखेका छौं ।“ नवनिर्वाचित नगरप्रमुख पन्थीले भने, “ सुन्दर नगर बनाउने सपनामा कर्मचारीले सहयोग गर्नु आवश्यक छ ।“ पन्थीले कर्मचारीहरूलाई नगरवासीको पक्षमा र समुन्नत नगरको पक्षमा काम गर्न पनि आग्रह गरे ।

नगरपालिका प्रमुख पन्थीले कर्मचारीहरूको असल कर्मको लागि मात्र आफ्नो साथ रहने भएकोले नियमविपरीत काम गर्ने कसैलाई छुट नहुनेमा स्पष्ट हुन निर्देशन दिए । कर्मचारीहरूले नागरिकको गुनासो र कामलाई खुसी भएर समाधान गर्नुपर्ने नगरपालिका प्रमुख पन्थीले बताए । कर्मचारीहरूको परिणाम देखिने गरेर आफूलाई काम चाहिने भन्दै पन्थीले आफूले जनतालाई देखाएको सपना पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । जनप्रतिनिधि र कर्मचारी मिलेर नगरपालिकालाई समृद्ध बनाउनेमा आफू प्रतिबद्ध रहेको पनि नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।

ad

नगरपालिकामा नवनिर्वाचित नगर उपप्रमुख अमृतादेवि कुँवरले कर्मचारीको तर्फबाट सहयोग भएको भन्दै सबैलाई धन्यवाद दिइन् । कर्मचारीहरूको सल्लाह र सुझाव पनि ग्रहण गर्न आफू तयार रहेको भन्दै नगर उपप्रमुख कुँवरले कर्मचारीहरूलाई स्वच्छ भएर पारदर्शी रूपमा गर्न निर्देशन दिइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नयाँ नेतृत्व चयन गर्ने नगरवासीहरूलाई कर्मचारीको तर्फबाट सबैलाई धन्यवाद दिए । राजनीतिज्ञ र कर्मचारी एक सिक्काका दुई पाटा भएको भन्दै उनले कर्मचारीले जनप्रतिनिधिको निर्देशन बमोजिम गर्न प्रतिबद्ध रहेको बताए । क्रिया गरेर मात्र प्रतिक्रिया प्राप्त हुने भन्दै प्रमुख प्रशासकीय अधिकृत मरासिनीले जनप्रतिनिधिबाट पारित भएका सबै कार्यविधि र योजना कार्यान्वयन गर्न सबै कर्मचारी लाग्ने उनले प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।