धुर्कोटमा एक हजार ७६७ रोपनी बाँझो जग्गा कृषियोग्य जमिनमा परिणत

0 151

प्रतिक खबर डटकम व्यूरो साउन २७,२०७९ गुल्मीः
जिल्लाको धुर्कोट गाउँपालिकाले एक हजार ७६७ रोपनी बाँझो जग्गालाई उत्पादन योग्य (कृषि योग्य) जमिनमा परिणत गरेको छ ।
गाउँपालिकाले पालिका भित्र बाँझो जग्गा नराख्ने गरी लिएको नीति अनुरुप एक हजार ७६७ रोपनी जग्गामा फलफूल र अन्नबाली लगाइएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए ।
कोरोना माहामारीको समयमा बाँझो जग्गामा खेती गर्नेलाई अनुदान दिने गाउँपालिकाले नीति लिएको थियो । सोही समय र हालसम्म गरी बाँझो जग्गामा फलफूल र अन्नवाली लगाई फलफूलका बिरुवाहरु हुर्कदै गएको , अन्नवालीबाट किसानले उत्पादन लिएको पोखरेलले बताए ।
कोरोना महामारीको समयमा बाँझो जग्गामा फलफूलका बिरुवा लगाउने किसानलाई प्रतिरोपनी तीन हजार, अन्नबाली लगाउने किसानलाई प्रति रोपनी चारहजारका दरले गाउँपालिकाले अनुदान दिएको थियो ।


गाउँपालिका भित्र रहेको बाँझो जग्गालाई सदुपयोग गरी उत्पादनसंग जोडनका लागि आफूले सो नीति लिएको पोखरेलको दाबी छ । कोरोना माहामारीको समयमा सिधै अनुदान दिनु भन्दा काम संगै उत्पादनलाई प्राथमिकतामा राखेर अनुदान प्रदान गर्दा बाँझो जग्गामा पनि खेती हुने र किसानलाई पनि फाइदा हुने गाउँपालिकाले जनाएको छ ।
हालसम्म बाँझो जग्गालाई फलफूल र अन्नबाली लगाउने किसानहरुलाई २९ लाख रुपियाँ अनुदानका रुपमा प्रदान गरेको अध्यक्ष पोखरेलले बताए ।


गाउँपालिका भित्रका नागरिकहरुलाई ब्यबसायीक रुपमा कृषि र पशुपालनका माध्यमबाट आत्म निर्भर बनाउन सकिने भन्दै कृषि ,पशुपालन र पर्यटनलाई जोड दिएको उनको दाबी छ ।
पालिका भित्रका किसानहरुलाई प्रविधि र सिंचाई लगायतका क्षेत्रहरुमा समेत अनुदान प्रदान गर्दै आएको र यस वर्ष पनि यस्ता कार्यक्रमहरु रहेको गाउँपालिकाले जनाएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।