इस्मामा पालिका स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

0 204

प्रतिक खबर ब्यूरो
गुल्मीमा संस्कृतिको संरक्षणसँगै तीज गीत र नृत्यमार्फत सामाजिक सन्देश प्रवाह गरिएको छ । जिल्लाको इस्मा गाउँपालिकामा गाउँपालिका स्तरीय तीज गीत प्रतियोगितामा आयोजना गरि संस्कृतिको संरक्षणसँगै तीज गीत र नृत्यमार्फत सामाजिक सन्देश प्रवाह गरिएको हो ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ग्रामीण मौलिकता, रीतिरिवाज, चालचलन, ग्रामीण कला संस्कृतिको संरक्षण र सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन् । सबै पक्षले संस्कृतिकको संरक्षण गर्नु पर्ने भन्दै हरितालिका तीजको अवसरमा शुभ कामना समेत व्यक्त गर्नुभएको थियो ।

प्रत्येक वडामा वडास्तरीय प्रतियोगिता आयोजना गरि पहिलो र दोस्रो स्थान हासिल गर्ने समूहलाई गाउँपालिका स्तरीय प्रतियोगितामा सहभागी गराइएको थियो । ६ वटा वडा रहेको गाउँपालिकामा कूल १२ समूह प्रतियोगितामा सहभागी भएका थिए ।

ad

प्रतियोगितामा सहभागी समूहहरुले गीत र नृत्यमार्फत जनप्रतिनिधिहरुले भ्रष्टाचार छाड्नुपर्ने, विकास तर्फ लाग्नुपर्ने, सबैले कृषि कर्म गर्नुपर्ने, बाटो मात्र विकास नभई दीगो विकास हुनुपर्ने, वैदेशिक रोजगारी त्याग्नुपर्ने, नारीहरु चुलोचौको र मेलापातमा मात्र सीमित हुन नहुने, सबै नागरिक शिक्षित हुनुपर्ने, नेपाली पोशाक प्रयोग गर्नुपर्ने र मोबाइल फोनको सही रुपमा सदुपयोग गर्नुपर्ने भन्दै सामाजिक रुपमा सन्देश प्रवाह गरेका थिए ।

त्यस्तै प्रतियोगितामा सहभागी समूहहरुले गाउँपालिकाले खोल्न लागेको टपरी उद्योग, पुष्पखेती, घरघरमा खानेपानी, बुल्मचौरमा खेलकुद रंगशाला बन्दै, एकल महिला र पुरुष समान, माध्यमिक तहसम्म निःशुल्क शिक्षा, गाउँपालिका भित्रका पर्यटकीय स्थलको संरक्षण, टोलटोलमा पुराइएको वृद्धाभत्ता, नागरिकमुखी नीति तथा कार्यक्रम र न्यायिक इजलाशको स्थापना लगायतको बिषयमा अभिनय गर्दै गीत र नृत्यमार्फत गाउँपालिकाको प्रशंसा गरेका थिए ।

प्रतियोगितामा सहभागी समूहहरुले हिंसारहित समाज बन्ने कहिले हो ?, नारी कुटपिट हुने, बेचिने र हिंसा सधैंभरि किन हुन्छ ?, हामीलाई हिंसारहित समाज चाहिन्छ, छोराछोरी बीच भेदभाव कहिलेसम्म ? र निर्मला पन्तलाई न्याय खोई ? जस्ता देशव्यापी परिघटनालाई गीत र नृत्य मार्फत प्रस्तुत गरेका थिए ।

शुक्रबार संचालित प्रतियोगितामा पहिलो दिपाञ्जली युवा क्लब इस्मा–४, दोस्रो राष्ट्रिय जनज्योति युवा क्लब इस्मा–२, तेस्रो मनकामना युवा क्लब इस्मा–४ र चौथो ताजा तरकारी देविस्थान महिला समूह इस्मा–१ भएका थिए । उत्कृष्ट नृत्यमा खड्क छत्र युवा क्लब इस्मा–५ बाट आर्य खत्री भएकी थिइन् । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने समूहले क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

सामाजिक कुरीति–कुसंस्कार हटाउन र जनप्रतिनिधिलाई सही मार्ग निर्देशन गर्न समूहहरुले प्रस्तुत गरेको प्रस्तुति निकै उपलब्धिमूलक रहेको गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताए । “सामाजिक रुपमा प्रवाह गरेको सन्देश, गाउँपालिकालाई दिएको सुझाव र नीति तथा कार्यक्रमको प्रशंसाप्रति हामी निकै हर्षविभोर छौं” अध्यक्ष खड्काले भने, “गीत र नृत्य मार्फत दिएको सुझावले समुन्नत इस्माको बाटोमा दौडिन थप हौसला मिलेको छ ।” उनले पछिल्लो समय संस्कृतिको संरक्षणमा विचलन आउन लागेको भन्दै आफूहरुले संस्कृतिको संरक्षणसँगै सामाजिक सन्देश प्रवाह गर्न खोजेको बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।