गुल्मी २ झाँक्रीलाई नछाड्न माओवादीमा प्रेसर, स्थानीय चुनावमा रोल्पापछि गुल्मी दोस्रो

0 278

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ नेकपा एसलाई नछाड्न माओवादी केन्द्रभित्र लबिङ बढेको छ । लुम्बिनी प्रदेशमै स्थानीय चुनावमा रोल्पापछिको दोस्रो नतिजा निकाल्न सफल भएको गुल्मीमा माओवादीले प्रतिनिधिसभाका दुवै क्षेत्र छाड्न नसक्ने नेताहरुले बताएका छन् ।

यसैबीच गुल्मी २ मा माओवादीबाट टिकटका प्रमुख दाबेदार भिमकान्त भण्डारीले आइतबार अध्यक्ष प्रचण्डसँगको भेटको फोटो राखेपछि जिल्लाको राजनीतिमा तरंग पैदा भएको छ । व्यवसाय र सामाजिक काममा संलग्न भण्डारीले फोटो पोष्ट गर्दै लेखेका छन्  अध्यक्ष भन्नु हुन्छ गुल्मी के छ जितिन्छ मैले भने, गुल्मी २ का जनताले हसिया हथौडामा भोट हाल्ने रहर गरेका छन् । योसँगै गुल्मी २ मा माओवादीको बलियो दाबी रहेको पुष्टी भएको छ ।

गुल्मीका १२ स्थानीय तहमध्ये माओवादीले चारवटामा प्रमुख पद जितेको छ । प्रमुख जितेकामध्ये रुरुक्षेत्र गाउँपालिका र चन्द्रकोट बाहेक अन्य २ वटा पालिका क्षेत्र नम्बर २ मा पर्छन् । सो क्षेत्रमा नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले टिकट दाबी गरेका कारण माओवादीका स्थानीय नेता कार्यकर्ता केन्द्रीय नेताहरुसमक्ष डेलिगेशन आइरहेका छन् ।

ad

गुल्मी–२ मा नेता व्यवस्थापन गर्ने नाममा जनमत नभएको पार्टीलाई सीट दिँदा विपक्षलाई फाइदा हुने भन्दै लुम्बिनीकै दोस्रो रोल्पा बनेको जिल्लामाथि अन्याय नगर्न माओवादी नेताहरुले आग्रह गरेका छन् । यसअघि गुल्मीमा माओवादीले एउटामात्र स्थानीय तह जितेको थियो ।

गुल्मी–१ कांग्रेसले पाउने निश्चित छ । २ नम्बर क्षेत्रमा माओवादीको करीव १० हजार मत छ भने एमालेको ३२ हजार हाराहारी र कांग्रेसको २२ हजार हाराहारी मत रहेको मानिन्छ । स्थानीय तहमा धेरै वडामा माओवादी उम्मेदवार रुख चिन्ह लिएर लडेका कारण वडाको मतबाट वास्तविकता थाहा नहुने उनीहरुको भनाइ छ ।

यतिसम्मकी माओवादीका जिल्ला इन्चार्ज वीरवहादुर कार्कीसमेत रुख चिन्हबाट वडा सदस्य लडेर हाल जिसस सदस्य छन् । नेकपा एसको मत सो क्षेत्रमा एक हजारको हाराहारीमा रहेको अनुमान छ । झाँक्रीको लागि शीर्ष नेताहरुले गुल्मी २ छाड्ने चिन्ताले माओवादीका स्थानीय नेता कार्यकर्ताले नेतृत्वमाथि दबाब बढाएका छन् ।

पछिल्लो समय नेकपा एसको मुख्य नेतृत्वसँग असन्तुष्ट रहेकी झाँक्रीले टिकटका लागि सिधै शेरवहादुर देउवा र प्रचण्डसँग एप्रोच गरेको स्रोतले जनाएको छ । देउवा झाँक्रीको पक्षमा सकारात्मक रहेपनि माओवादीले भने गुल्मी २ मा दाबी कायमै राखेको प्रचण्डले जिल्लाका नेताहरुलाई बताएका छन् ।

गुल्मी २ बाट माओवादी केन्द्रले भीमकान्त भण्डारी,नुमराज पाण्डे र वीरवहादुर कार्कीको नाम सिफारिस भए पनि भण्डारीले टिकट पाउने समझदारी छ । उनीसहित नेताहरुले प्रचण्डलाई समेत भेटेर स्थानीय चुनावको मतको समेत सम्मान गर्दै गुल्मी २ नछाड्न आग्रह गरेका छन् ।

गुल्मीका एक माओवादी नेताले भने जिल्लामा हामी कांग्रेसपछि दोस्रो भएका छौं स्थानीय तहमा । कांग्रेसले ५, माओवादीले ४ र एमालेले ३ पालिका जित्यो । नेकपा एसले एउटा वडा पनि जितेको छैन । समाजवादीका जिल्ला इन्चार्जसहित बहुमत सदस्य एमालेमा फर्किए । झाँक्रीजीको चुनावी अनुभव पनि छैन र उहाँको क्रेज शहरमा होला यता गाउँघरमा छैन । त्यसैले एउटा कांग्रेस र एउटा माओवादीले बाँड्दामात्र एमाले हराउन सकिन्छ भन्ने हाम्रो रिपोर्ट हेडक्वार्टमार दिएका छौं ।

माओवादी पार्टीले २०६४ सालमा गुल्मीका ३ मध्ये २ क्षेत्रमा जितेको थियो । २०७० मा पराजित भएको माओवादीले २०७४ मा प्रदेश जित्यो भने अघिल्लोपटक धुर्कोट जितेर नमूना पालिका बनाएको पार्टीले यसपटक ४ पालिका जितेको छ । यसलाई माओवादी नेताहरुले जनमत बढेको अर्थमा ब्रिफ गरेका छन् ।

गुल्मी जिल्ला माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल समेत चुनाव जितेको र गृहजिल्ला भएका कारण पनि गुल्मी २ मा माओवादीले दाबी यथावत राखेको नेताहरुले बताएका छन् । झाँक्रीलाई चुनाव लड्न इच्छा भए काठमाडौं उपयुक्त हुने सुझाव उनीहरुको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।