२४ सै घण्टा डाक्टरसहितको सेवा गुल्मीदरबारको बीरवासमा

0 169

हुमाकान्त पोखरेल
असोज १०,०७९ गुल्मी स्गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ विरवासमा ल्याबसहितको मेडिकल सेवा सुरु भएको छ । विरवास हेल्थ क्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टरले सोमबारदेखि नियमित रुपमा सेवा सुरु गरेको हो ।

सेन्टरको सोमबार एक औपचारिक कार्यक्रमका बीच गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विरवास जस्तो ठाउँमा ठुलो लगानीमा ल्याबसहितको सेवा सुरु गर्ने संस्थालाई धन्यवाद् दिए । ‘ग्रामीण भेगमा ल्याबसहित विशेषज्ञ डाक्टरसहितका स्वास्थ्य सेवा संचालन गर्नु आफैमा चुनौतिपूर्ण छ ।’ उनले भने, ‘यसको दीगोपनाका लागि पालिकाको तर्फबाट आवश्यक सहयोग हुन्छ ।’

संस्थाले आफ्नो सेवा सुरु गरेको अवसरमा एक दिनको लागि निःशुल्क विशेषज्ञ सेवा पनि प्रदान गरेको छ । डाक्टर दिपक श्रेष्ठले महिला तथा स्त्री रोग, डाक्टर सन्तोष शर्माले नाक, कान तथा घाँटी, डाक्टर विजय यादवले मुटु एवम् डाक्टर शम्भु खनालले जनरलसम्बन्धि जाँच गरेको संचालक केपी भण्डारीले जानकारी दिए ।

ad


भण्डारी र छविलाल पाण्डेले एक करोडभन्दा बढीको लगानीमा ल्याबसहितको सेवा संचालन गरेका हुन् । संचालक केपी भण्डारीले विभिन्न रोगका कारण जिल्लाबासी जिल्लाबाहिर जान नपरोस् भन्ने उदेश्यले ल्याबसहितको स्वास्थ्य सेवा संचालन गरिएको बताए । सेन्टरले प्रत्येक शनिबार विशेषज्ञ डाक्टरसहितको सेवा दिने भएको छ ।

जसअन्तरगत हरेक महिनाको पहिलो शनिबार मुटु, छाला, यौन र कुष्ठरोगसम्बन्धि सेवा दिनेछ । त्यसैगरी दोस्रो शनिबार नाक, कान, घाँटी, पिनाश, थाईराईड, महिला, प्रसुति तथा बाँझोपनसम्बन्धि, तेस्रो शनिबार सुगर, थाईराईड, प्रेसर, पेट, छाती, मुटु तथा कलेजो एवम् नशासम्बन्धि र चौथो शनिबार हाडजोर्जी, नशा र बाथरोगसम्बन्धि सेवा प्रदान गर्ने संचालक केपी भण्डारीले जानकारी दिए ।

कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।