अजय खड्का
कात्तिक ३, गुल्मी ।
सामान्यतया कार्यालय समय बिहान १० बजे देखि ५ बजेसम्म हो । त्यही समय भित्र सेवाग्राहीले सेवा पाउने गर्दछन । तर जिल्ला प्रशासन कार्यायल गुल्मीले भने कार्यालय समय सकिए पछि समेत सेवा दिने गरिएको छ । सेवाग्राहीको चापका कारण जिल्ला प्रशासन कार्यालय गुल्मीले रातीसम्मै सेवा दिई रहेको छ ।
सरकारी काम कहिले जाला घाम भन्ने उखानलाई गलत सावित गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीको चाँप बढ्दै गएपछि राति सम्म पनि सेवाग्राहिहरुलाई सेवा प्रदान गरेको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीमा केहि दिन यता बेलुकी ७, ८ बजेसम्म सेवाग्राहीको भने लाइन हुने गर्दछ । सेवाग्राहीहरु सेवा लिनको लागी बेलुकी अबेलासम्मै लाइन मै हुने गर्दछन् ।

दशैँ पछि हरेक दिन ७ बजे बजेदेखि नै कार्यालयमा सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ । साँझसम्मै बसेर सेवा पाउदा नागरिकहरुको अनुहारमा भने खुशी हुने गरेका छन् ।
प्रशासन कार्यालयको दैनिक क्षमता ७० जना सम्म भए पनि अहिले भने १७० भन्दा माथीसम्म पुग्ने गरेको छ ।
अन्य समयमा दैनिक ३० देखि ५० नयाँ नागरिकता जारी हुने भए पनि अहिले दशै तिहारको बिचमा दैनिक १ सय देखि १ सय ७० सम्म नयाँ नागरिकता जारी हुने गरेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । बिहान ७ बजे देखि राती ८ बजेसम्म सेवाग्राहीले सुबिधा पाउन भनेर आफु राती अबेरसम्म सेवामा खटिएको पौडेलको भनाई छ ।

प्रशासन कार्यालय गुल्मीमा दरबन्दी अनुसारको कर्मचारीको नरहेकोले कारणले पनि समस्या परेको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए ।