धुर्कोटमा नयाँ गुफा हेर्नेको घुँइचो

0 160

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका नयाँ गुफा भेटीएको छ । गत छ दिन अघि हाडहाडेको बर्दबास स्थीत धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम बिष्टले जानकारी दिएका छन । गुफा भेटीएको जानकारी पाएपछि अहिले धुर्कोट गाउँपालिकादेखि जिल्ला सदरमुकाम तम्घास लगायतका स्थानवाट हेर्न जाने मानिसहरुको दिनहुँ भीड बढ्दै गएको छ ।
दुम्सीको दूलो भनेर चिनिएको उक्त ठाउँमा मान्छे छिर्न सक्ने प्वाल रहेको थियो । गुफाभित्र शिव लिङ्ग, गाईका थुन, मुर्ती, मानिसको आकार, रक्त धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको, नाग तथा खेतबारी जस्तो देखिने विभिन्न आकर्षक आकृतीहरु रहेको वडाध्यक्ष बिष्टले बताए । नयाँ गुफा फेला परेको जनाकारी पाएपछि यतिबेला दैनिक सयौं मानिसहरु अवलोकनका लागि गुफा पुग्ने गरेका छन । पाँच दिनको अबधिमा आठ सय भन्दा बढी व्यक्तिहरुले गुफाको अवलोकन गरिसकेको वडाध्यक्ष विष्टले बताए ।
२०२८ सालमा स्थानीय भुमिराम घिमिरे बहुदलीय र निर्दलीय बीचको लडाई हुँदा सोही ठाउँमा गई लुकेको स्थानीयले बताएका छन । ०६२ सालमा स्थानीय तुलाराम पाण्डे लगायतका स्थानीयहरुले सो ठाउँमा ढुंगा झिकेर भित्र पस्ने प्रयास गर्दा प्वाल भित्र कुनै जंगली जनावर बस्न सक्ने हुँदा आक्रमणको डरले भित्र पस्न नसकेको बताइएको छ ।

मान्छे लुक्न मिल्ने प्वाल भेटिएपनि स्थानीयले उक्त ठाउँलाई साराको दुलोको नामले परिचित रहेको थियो । स्थानीयहरुले केही दिनअघि बसिवियाँलोको गरि गफगाफको क्रममा उक्त ठाउँमा प्वाल भएको चर्चा चलाएका थिए । सबै मिलेर छलफल गरेपछि गुफाभित्र पसेर हेर्ने निस्कर्षपछि वडाध्यक्ष विष्टकै पहलमा स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा प्वाल भित्र जाँदा गुफा रहेको पत्ता लागेको हो । उक्त गुफाको चौडाई र उचाई पाँचदेखि आठ फुटसम्म रहेको बताईएको छ ।
नयाँ फेला परेको गुफालाई स्थानीयले ‘धनिश्वर मनोरम नागेश्वर गुफा’ भनि नामाकरण गरेका छन् । गुफालाई संरक्षण गर्नको लागि रामप्रसाद कुँवरको अध्यक्षतामा १३ सदस्यीय संरक्षण समिति, प्रेम नेपालीको संयोजकत्वमा प्रचार–प्रसार समिति र जुद्ध बहादुर खत्रीको संयोजकत्वमा सल्लाहकार समितिको गठन समेत गरिएको छ । हाडहाडेमा भेटीएको नयाँ गुफासँगै धुर्कोट गाउँपालिकामा बिचित्र गुफा सहित गुफाको सङ्ख्या दुई पुगेको छ ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।