व्यक्तिगत घटना दर्ता सप्ताह : चन्द्रकोटमा अभिमुखिकरण कार्यक्रम  

0 92

 

महेश बोहरा, गुल्मी । बैशाख १ गते नयाँ वर्षदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । व्यक्तिगत घटना दर्तासम्बन्धी सचेतना जगाउन सरकारले वैशाख महिनाको पहिलो हप्ता अभियानका रुपमा व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गरेको छ । नेपालले अर्को वर्ष सन् २०२४ सम्ममा जन्म र मृत्यु जस्ता व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत पुर्याउने लक्ष्य लिएको छ । सोही अनुरुप गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा सामाजिक सुरक्षा तथा पंजीकरण सेवा इकाईद्वारा संचालित व्यक्तिगत घटना दर्ता सप्ताह २०८० वैशाख १ गते देखि ७ गते सम्म संचालन भईरहेको छ । सोमबार व्यक्तिगत घटना दर्ताको महत्व सम्बन्धी अभिमुखिकरण कार्यक्रम उदय माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष युवराज केसीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल, वडा नं. ४ का वडा अध्यक्ष बल बहादुर बस्नेत, शाखामा कार्यरत कर्मचारीहरु, विद्यालयका शिक्षक÷शिक्षिका तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा ब्यक्तिगत घटना दर्ताको महत्वको बारेमा जानकारी गराईएको थियो । गाउँपालिका अध्यक्ष युवराज केसीले सबैले समय मै व्यक्तिगत घटना दर्ता गर्न आग्रह गर्नुभएको थियो । उहाँले समय मै ब्यक्तिगत घटना दर्ता गर्दा नीति निर्माण, सेवा प्रवाह, विकास निर्माणलगायतका लागि आवश्यक परेको समयमा तथ्याङ्क प्राप्त गर्न सहज हसने उल्लेख गर्नुभयो ।

 

ad

जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेद जस्ता घटनालाई ३५ दिनभित्र नजिकको वडा कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ । अहिले ६ हजार ७ सय ४३ वडामध्ये ६ हजार ५ सय ७६ वडामा घटना दर्ता अनलाइनमा दर्ता हुने व्यवस्था छ । अनलाइन माध्यमबाट झण्डै ४८ लाख व्यक्तिगत घटना दर्ता भएको सरकारको तथ्याङ्क छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेदका घटना गरी अहिलेसम्म ४८ लाख ४५ हजार ९ सय १३ व्यक्तिगत घटना अनलाइनमार्फत् दर्ता भएका छन् ।

 

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।