गुल्मीमा महिलाको हत्यामा संलग्न तिन जना कारागार चलान

0 1,454

अनिल खत्री बैशाख २०, गुल्मी

गुल्मीको मुसिकोट नगरपालिका–७ वामीमा एक महिलाको हत्या गर्ने ३ जना अभियुक्त पुर्पपक्षको लागि कारागार चलान भएका छन् । वामीमा होटल सञ्चालन गर्दै आएकी ५८ वर्षीया गंगा शेरचनको गत माघ १५ गते निर्मम हत्या भएको थियो ।

शेरचनको शव आफ्नै होटल भित्र प्लाष्टिकको टेपले हातखुट्टा र मुख बाँधेर मृत अवस्थामा फेला परेकी थिइन् । उनको हत्यमा बाग्लुङ्गको वडिगाड गाउँपालिका–७ का थम्मनबहादुर घर्ती, मकवानपुरको बितिनी गाउँपालिका–७ घर भई हाल काठमाडौंको चन्द्रगिरी नगरपालिका–१० बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ भर भई हाल काभे्रपलाञ्चोकको धुलिखेल नगरपालिका–७ बस्ने शिव बहादुर तामाङलाई पक्राउ परि गुल्मी जिल्ला अदालतबाट पुर्पक्षका लागि जिल्ला कारागार गुल्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

ad

जिल्ला प्रहरी कार्यालय गुल्मीले लुम्बिनी प्रदेश प्रहरी दाङसँगको समन्वय तथा केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको सहयोगमा हत्यामा संलग्न थम्मनबहादुर घर्तीलाई गत फागुनमा पक्राउ गरिएको थियो । निजको बयानको आधारमा तिन जना मिलेर सामुहिक हत्या गरेको खुलेपछि प्रहरीले थप अनुसन्धानलाई तिव्रता दिएको थियो ।

त्यसपछि हत्यामा संलग्न रहेका लोकबहादुर दर्लामी र शिवबहादुर तामाङलाई गत चैत २८ मा धुलिखेलबाट पक्राउ गरिएको थियो । त्यसपछि उनीहरुको बयानका आधारमा हत्यामा संलग्न पुष्टि भएपछि उनीहरुलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

हत्यामा संलग्न यी तिन जनाको बयानका आधारमा अझै एक जना फरार रहेका छन् । उनको खोजी कार्यलाई तिव्रता पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक गंगा शेरचनको शव मृत अवस्थामा भेटिएपछि संकास्पद लागेर जिल्ला प्रहरी कार्यालय गुल्मीले विज्ञ कुकुरको सहयोगमा अनुसन्धानलाई अगाडि बढाएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।