गुल्मीमा चोरीका घटना बढ्दै

0 102

पछिल्लो समय गुल्मीमा चोरीका घटना बढ्दै जान थालेको छ । जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क, सहकारी लगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भयो, त्यो घटनाको दोषी पत्ता नलाग्दै कालीगण्डकीमा पनि चोरी भएको छ ।
सोमबार राती कालीगण्डकी गाउँपालिका वडा नं ७ भुर्तुङको खमरे पाटा बस्ने सकुल थापाको घरबाट एक हजार पाँच सय नगद, रेनुका थापाको घरबाट मोबाइल सेट, कोपिला थापाको घरबाट आधा तोलाका सुनको औँठी, देगराज पुनको घरबाट मोबाइल सेट, लुमबहादुर मगरको घरबाट मोबाइल सेट चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

राती १२ः३० बजे आफूहरूलाई चोरी भएको भन्ने सूचना आएको र लगत्तै जिल्लाको टोली घटनास्थलतर्फ गएको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । प्रहरीको टोलीले सूक्ष्म रूपमा अनुसन्धान गरी रहेको पाण्डेले बताउनुभयो । नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले चोरीका घटनाहरूलाई नियन्त्रण गर्नका लागि प्रहरी प्रशासनले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो । जनताको जिउधनको सुरक्षा दिनु राज्यको दायित्व भएको भन्दै जनताले सुरक्षाको प्रत्याभूति पाउनुपर्ने उहाँको तर्क छ ।

यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नवीन किशोर प्रधानले चोरीका घटनामा स्थानीयहरूको पनि संलग्नता रहेको हुनसक्ने भन्दै सूचना प्राप्त गर्नु नै प्रमुख भएकाले सूचना दिई सहयोग गर्न पनि उहाँले स्थानीयहरूलाई आग्रह गर्नुभएको छ । आफूहरूसँग पर्याप्त स्रोत साधन नभएकाले पनि अनुसन्धानमा केही समस्या भएको उहाँको भनाइ छ । चोर समात्न नसक्दा प्रहरीले काम गरेन जस्तो जनतालाई लागेको हुन सक्ने भन्दै आफूहरू अनुसन्धानमै रहेको दाबी उहाँले गर्नुभयो । उक्त क्षेत्रमा स्याङ्जा र गुल्मीको सिमाना पनि भएकाले चोरीका घटनाहरू बढ्दै गएको बताउँदै त्यस क्षेत्रमा प्रहरी चौकी पनि आवश्यक रहेको उहाँको भनाइ छ । अस्लेवामा चोरी हुनु केही दिन पहिले स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका पाँच छ वटा घरहरूमा तोडफोड गरी चोरी भएको थियो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।