गुल्मीमा मध्य असार हुँदासम्म १२ प्रतिशत मात्रै रोपाइँ

0 92

गुल्मीमा मध्य असार हुँदासम्म १२ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । गुल्मीदरबार गाउँपालिका र कृषि ज्ञान केन्द्र गुल्मीको आयोजनामा गुल्मीदरबार गाउँपालिका–५ पच्चिसमुरेमा धान रोपाइँ गरि धान दिवसलाई बिशेष रुपमा मनाइएको हो ।
धान रोपाइँलाई परम्परागत रुपमा मनाइने परम्पराबाटै रोपेर वालीगीत सहित पञ्चेबाजा सहित धान रोपिएको थियो । गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापा, उपाध्यक्ष तारा थापा ढेंगा र कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले संयुक्त रुपमा धान रोपाइँ गरेर कार्यक्रम शुभारम्भ गर्नु भएको थियो ।
गुल्मीमा हालसम्म १२ प्रतिशत धान रोपाइँ भएको छ । धान रोपाइँको लागि आकाशे पानी कुरिरहेका किसान पानी समयमा नपर्दा करिब १५ दिन ढिला धान रोप्न बाध्य भएका छन् ।
गुल्मी चौरासी फाँट, वामी, खैरेनी, पच्चिसमुरे लगायतका ठाउँ जिल्लामा धान रोपाइँको लागि मुख्य फाँट हुन् ।
गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले गाउँपालिका भित्र बाँझो जमिन नराखि किसानलाई धान खेतीमा प्रोत्साहन गर्नको लागि यसरी धान रोपाइँ गरिएको बताउनु भयो । उहाँले यसरी असार १५ लाई बिशेष रुपमा मनाउँदा पनि किसानलाई कृषि पेशामा थप आकर्षित गर्न सकिने बताउनु भयो ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जिल्लामा सिँचाइ अभावमा धान रोपाइँ कम भएको बताउनु भयो । गत वर्ष यहीँ समयमा गुल्मीका २६ प्रतिशत धान रोपाइँ भएको थियोे । यस वर्ष समयमा वर्षा नहुँदा रोपाइँमा केही ढिला भएको हो । गुल्मीमा पछिल्लो समय धान रोप्ने क्षेत्रहरू घट्दै गएका छन ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।