बिदेशमा १२ वर्षको कर्मपछि अहिले गाउँमै व्यावसायिक घाँस खेती

0 101

 

सन्तोष महतारा, गुल्मी । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल केसी १२ वर्ष बिदेशको कर्मपछि गाउँमै फर्केर व्यावसायिक घाँस खेती सुरु गर्नुभएको छ । उमेरले ३८ वर्ष पुग्नुभएका केसीले विगत चार वर्षदेखि घाँस खेती सुरु गरि हाल आम्दानी गर्न थाल्नुभएको हो ।

उहाँले फाइभ जी कृषि तथा पशुपञ्छी फर्म दर्ता गरेर आफ्नै कुल एक सय रोपनी क्षेत्रफलको जमिनमा ४६ प्रकारका घाँसको खेती गर्नुभएको छ । सोही घाँस खेतीमा हालसम्म कुल रु १६ लाख लगानी भएको छ । उहाँले यो सिजनबाट घाँसका बिरुवा बिक्री गर्न थाल्नुभएको हो । आम्दानीको एकिङ्क भइसकेको छैन् । तर, घाँस खेतीमा भएको लगानी एक दुई सिजनमै आम्दानीतर्फ जाने केसी बताउनुहुन्छ ।

ad

केसीले उत्पादन गरेका बिरुवा हाल गुल्मी जिल्लासँगै अर्घाखाँची, पाल्पा, प्युठान, बाग्लुङ, कास्की र धरान लगायतका ठाउँमा पुग्ने गरेका छन् । उहाँको नर्सरीमा रु एक देखि रु ६० सम्म मुल्य पर्ने घाँसका बिरुवा रहेका छन् । केसीको नर्सरीमा इपील–इपील, राईखन्यु र नेपियर लगायतका बिरुवा छन् ।

मदाने गाउँपालिकाबाट पनि राम्रो सहयोग भएको भन्दै घाँस खेतीबाट आफु सन्तुष्ट रहेको केसी बताउनुभयो । “चारैतर्फबाट सहयोग छ, गाउँमै किसानी गर्दा सबैले प्रशंसा गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “बिदेशमा उमेर रहुन्जेलको जीवन बिताउन भन्दा गाउँमै केही गनुपर्छ भन्ने प्रेरणा मिलेको छ ।” सिँचाईमा भने केही असहजता भएको उहाँले गुनासो गर्नुभयो ।

पछिल्लो समय ग्रामीण भेगमा व्यावसायिक पशुपालन बढ्दै गएको छ । तर, घाँसको भने अभाव रहेको छ । हरियो घाँसको प्रयोग झनै घट्दै गएको छ । जसका कारण आफुमा घाँसको व्यवसायिक खेती सुरु गर्ने धारणा जागेको किसान गोपाल केसीले बताउनुभएको छ । उहाँको फर्मबाट सिजनमा दैनिक पाँच जनाले रोजगारी पाउने गरेका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।