४ सय ८८ रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु

0 89

गुल्मीमा ४८८रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल ४८८ रोपनी जग्गामा चक्लाबन्दी खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यन्वयन इकाई गुल्मीका प्रमुख गंगाकुमारी पोखरेलले जानकारी दिइन् ।

धुर्कोट २ पिपलधारामा सुभसन्देश उपभोत्ता सहकारी संस्थाका १२ जनाले बाँझो ६० रोपनी जग्गामा सुन्तला खेतीे , मदाने गाउँपालिका ६ पुर्कोटदहमा कंकेदेउराली बिउँ उत्पादन समूहका २३ जनाले ६८ रोपनी बाँझो जग्गामा सुन्तला खेती, सत्यवती गाउँपालिका वडा नम्वर४ को लिम्घामा सत्यवती कृषक समूहका ९ जनाले १०० रोपनीमा कागती खेती , कालीगण्डकी गाउँपालिका ३ मा हिमालयन कृषि तथा पशुपन्छी फर्मले २०० रोपनी जग्गामा कफी खेती र रेसुङगा नगरपालिका ३ मा ६० रोपनी जग्गाको क्षेत्रफलमा तरकारी खेती मार्फत चक्लाबन्दी खेती गरिएको पोखरेलले बताइन् ।


कृषि यन्त्रहरुको प्रयोग गरी चक्लाबन्दी खेती गरिएको कार्यालयले जनाएको छ । यसरी चक्लाबन्दी गरी खेती गर्दा उत्पादनमा वृद्धि हुने,लागत ,समयको पनि बचत हुने र स्थानीय स्तरमै रोजगारीको अवसर पनि सृजना हुने कार्यालयका सूचना अधिकारी नारायणी गाहाले दाबी गरिन् । प्रत्येक चक्लाबन्दी खेती गर्ने कृषक , तथा समूहलाई कार्यालयको तर्फबाट कूल लागतको ५० प्रतिशत अर्थात १२ लाख रुपियाँ उपलध गराइने छ ।

ad

५० प्रतिशत रकम कृषक वा कृषक समूहको लागत रहने कार्यालयले जनाएको छ । जसमा स्थानीय तहको पनि लगानी रहने कार्यालयले जनाएको छ । फलफूलको चक्लाबन्दीमा सुन्तला जातमा कलमी बिरुवाहरु लगाइएको छ भने कफीमा जालीभित्रको घरमा तयार गरिएको नर्सरीका बिरुवाहरु रोपण गरिएको गाहाले जानकारी दिनुभयो ।

बिरुवाहरु स्वच्छ मान्यता प्राप्त नर्सरीका भएकाले कुनै शंका नरहेको गाहाको दाबी छ । कलमी सुन्तलाका बिरुवाहरुले करिव तीन वर्षबाट उत्पादन दिन सुरु गर्ने र कफीका बिरुवाहरुले पाँच वर्षमा उत्पादन दिन सुरु गर्ने गाहाले बताइन् । गत वर्ष जिल्लाका विभिन्न स्थानीय तहमा पाँच वटा चक्लाबन्दीमा खेती गरेको कार्यालयले जनाएको छ । गतवर्षको चक्लाबन्दीमा यस वर्ष साना सिंचाइमा कार्यालयले सहयोग गरेको गाहाले बताइन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।