प्रधानमन्त्रीले नै जातीय विद्वेषको आगो लगाउँदै हिँडे – ज्ञवाली

0 181

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री नै सामाजिक भड्काउमा लागेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले ’मलाई जिताउ जातीय राज्य बनाइदिन्छु’ भन्दै सामाजिक सद्भाव र जातीय पहिचान भत्काएर जातीय विद्वेषको आगो लगाएको उनको भनाइ थियो ।
बुटवलमा शनिबार सुरु एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री नै सामाजिक सद्भाव भड्काउन लागेपछि सामाजिक सद्भाव भत्कँदै गएका उदाहरणहरु देखिन थालेको बताए ।
उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री दाहालले केही नयाँ काम गर्न नसकेको र देशलाई संकटमा मात्रै फसाएको आरोप लगाए । देश आर्थिक मन्दीको संकटमा फसेको भन्दै उनले इतिहासमा राजस्वले सरकारको खर्च धान्न नसक्ने गरी आर्थिक संकट आएको बताए । विकास निर्माण रोकिएको, अघिल्ला वर्ष नै काम गरेका निर्माण व्यवसायीले पैसा नपाएको, व्यवसाय ठप्प हुँदा उद्योगधन्दा बन्द हुँदै र सटर खाली हुँदै गएका एवं व्यवसायीहरु आत्महत्या गर्न बाध्य भएको कहालीलाग्दो अवस्था आएको उनको दाबी छ ।
भारत भ्रमणमा गएर भारतकै अनुकूलको जलविद्युत् सम्झौता गरेर तोमशरणम् भनेजस्तै प्रधानमन्त्रीमा टिकिरहने मात्रै प्रपञ्च गरेको उनको आरोप छ । सुशासनका नाममा आफ्ना मान्छेलाई सुनपानी छर्केर बचाउने र ललिता निवास जग्गा प्रकरणका मुख्य सुत्रधारलाई नै अनुसन्धानको दायरामा नल्याउने निर्णय गरेर प्रधानमन्त्रीले जनअदालतको पुनः अभ्यास थालेको उपमहासचिव ज्ञवालीले बताए ।
उपमहासचिव ज्ञवालीले युवालाई स्वदेशमै रोक्ने, आर्थिक गतिविधि बढाउने, रोजगारी बढाउने खालका कुनै पनि गतिविधि सरकारले नगरेको दाबी गरे ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।