गुल्मी तम्घासको सफल र सम्पन्न आयुर्वेद सिल : छानविन गर्न समिति गठन

0 322

अनिल खत्री
१६ माघ, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सञ्चालित सफल र सम्पन्न आयुर्वेद पसल सिल गरेको प्रशासनले छानविन गर्न समिति बनाएको छ । सत्य तथ्य छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको हो ।
जसको सदस्यहरुमा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्य, रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती, आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका डाक्टर सुरज पाण्डे र प्रहरी निरीक्षक सूर्यमान चौधरी सदसय रहेको समिति गठन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो  । समितिले यहि माघ १९ गतेसम्म सत्य तथ्य बुझेर प्रतिवेदन पेश गर्नेछ ।
प्रतिवेदन आएपछि त्यसलाई आधार मानि दोषी देखिएमा कानून अनुसारको कारवाही प्रशासनले जनाएको छ । तम्घासको पुरानो बजारमा रमेश अधिकारीले सञ्चालन गर्दै आएको सम्पन्न आयुर्वेद पसल र सफल होमियोप्याथिक औषधी पसल अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गरेको पाइएको भन्दै प्रशासनले सोमबार सिल भएको हो ।
औषधी खुद्रा बिक्रीको लागि दर्ता भएको उक्त पसले गैरकानुनी ढंगले क्षेत्र अधिकार बाहिर रहेर उपचार र ल्याब सेवा सञ्चालन गरेको पाइएको छ । उक्त पसलले आयुर्वेद र एलोपेथिक औषधीहरु राख्ने गरेको,एक्स–रे तथा भिडियो–रे सेवा, फिजियो थेरापी र नेबुलाइजर सेवा, पनि प्रवाह गरेको पाइएको थियो ।
साथै बिरामी भर्ना गरेर भिन्नि ढंगले उपचार गर्दै आएको पनि पाइएको अनुगमन कर्ताले फेला पारेका थिए । अधिकारीले रेसुङ्गा नगरपालिका वडानम्बर ८ मा पसल र वडानम्बर ९ मा ल्याब र औषधीको ठूलो जोदाम .राखेर सेवा प्रवाह गर्दै आएको फेला परेको प्रशासनले जनाएको छ ।
आयुर्वेदले गम्भीर प्रकृतिका बिरामी हेर्ने, औषधि वितरण गर्ने र प्रयोगशाला संचालन गरेको गुनासो आएपछि आयुर्वेद बन्द गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।
सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले आयुर्वेद सिल गरेको थियो । उक्त आयुर्वेद पसलले आठ कोठामा औषधि, प्रयोगशाला र बिरामी कुरुवा कक्ष सञ्चालन गरेको छ ।
अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गर्ने अधिकार कसैलाई नभएको भन्दै अनुसन्धान पश्चात के कारवाही गर्ने भन्ने बारेमा निर्णय लिइने शर्माले बताउनुभयो  । जिल्ला सदरमुकामै क्षेत्र अधिकार बाहिर रहेर आयुर्वेद पसल सञ्चालन गरेर स्वास्थ्य जस्तो सम्बेदनशिल बिषयमा खेलबाड हुँदै आएको प्रति नागरिकको गुनासो बढेको थियो ।
उक्त पसलले गम्भीर प्रकृतिका बिरामी भर्ना गर्ने र चेक जाँच गर्ने गरेको आरोप स्थानीयको छ । उक्त पसलमा आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीले अनुगमन गर्दा क्षेत्राधिकार भन्दा बाहिर रहेर काम गरेको फेला पारेर पटक पटक सुझाब दिँदा समेत अटेर गर्दै आएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।