महेश बोहरा
फागुन २१, गुल्मी, चन्द्रकोट – गुल्मीको चन्द्रकोट गाउँपालिकामा नव नियुक्त नगर प्रहरी जवान तथा सहयोगीलाई विशेष कार्यक्रममार्फत स्वागत तथा बधाई प्रदान गरिएको छ।
गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, जनप्रतिनिधिहरू, प्रशासनिक कर्मचारी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा अध्यक्ष खत्रीले नगर प्रहरी सेवाको महत्त्व उजागर गर्दै स्थानीय शान्ति, सुरक्षा तथा सुशासन कायम गर्न नव नियुक्त प्रहरी जवान तथा सहयोगीको भूमिका महत्वपूर्ण हुने बताए। उनले पालिकाले नगर प्रहरी सेवालाई थप प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन तथा तालिम प्रदान गर्ने प्रतिबद्धता पनि जनाए।
पालिकाले हाल नगर प्रहरी सेवामा १ जना प्रहरी जवान र ४ जना नगर प्रहरी सहयोगी नियुक्त गरेको छ। उनीहरूलाई गाउँपालिकाभित्र शान्ति सुरक्षाका विभिन्न जिम्मेवारीमा परिचालन गरिनेछ। प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगर प्रहरीको पेशागत विकासका लागि नियमित तालिम तथा आवश्यक सामग्रीको व्यवस्थापन गरिने जानकारी गराए।
गाउँपालिकाले स्थानीय सुरक्षा व्यवस्थालाई थप बलियो बनाउन नगर प्रहरीको भूमिकालाई प्रभावकारी बनाउने रणनीति लिएको छ। कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरूले पनि नव नियुक्त प्रहरी जवान र सहयोगीलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।