महेश बोहरा, बैशाख १७ — गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाको आयोजनामा शान्तिपुरमा सम्पन्न बृहत् आँखा उपचार तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । बैशाख १५ र १६ गते चन्द्रकोट ४ शान्तिपुरमा सम्पन्न भएको शिविरबाट १३० जना स्थानीयवासीले सेवा लिएका छन्। नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीको प्राविधिक सहयोग र शान्तिपुर आँखा उपचार केन्द्रको व्यवस्थापनमा सम्पन्न शिविरले गाउँमै आँखा उपचार सेवा पु¥याएको हो।
शिविरमा मोतियाविन्दु पहिचान भएका ३६ जनाको सफल शल्यक्रिया गरिएको छ । त्यस्तै, ९४ जना बिरामीलाई आवश्यक औषधि र चश्मा वितरण गरिएको छ भने १५ जनालाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ । ८६ वर्षका लालबहादुर क्षत्री र चन्द्रमणी भण्डारीजस्ता जेष्ठ नागरिकले गाउँमै शल्यक्रिया गरेर फेरि देख्न पाउँदा गहकिलो खुसी व्यक्त गरेका छन् । क्षत्रीले भने, “अब फेरि राम्रोसँग देख्न पाएँ, निकै खुसी लागेको छ।”
शिविरमा बाग्ग्लुङ्ग जिल्लाको बरेङ गाउँपालिका सहित गुल्मीको सत्यवती गाउँपालिकाका नागरिकले समेत सेवा लिएका छन्। वरिष्ठ नेत्र विशेषज्ञ डा. सविता ढकालले यस्तो सेवा गाउँमै दिन सक्दा बिरामीको अनुहारमा अद्भुत खुसी देखिएको बताइन्। समापन कार्यक्रम चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, स्वास्थ्य शाखा प्रमुख प्रकाश शर्मा, आँखा उपचार केन्द्र व्यवस्थापन समिति अध्यक्ष गणेश खत्री, प्रशासकीय अधिकृत शिव ज्ञवाली लगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन नेत्र सहायक सुदीप पौडेलले गरेका थिए।