समाजवादी रूपान्तरणको मार्गमा दृढ संकल्प: महासचिव गुरुङ्ग

0 108

महेश बोहरा, गुल्मी बैशाख २०,

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङ्गले वर्तमान सामाजिक, आर्थिक तथा राजनीतिक परिस्थिति समाजवादी रूपान्तरणतर्फ अग्रसर गराउनुपर्नेमा जोड दिएका छन्। गुल्मी जिल्लाको मालिका गाउँपालिकामा आयोजित पार्टीको तेस्रो पालिका सम्मेलन तथा अधिवेशनमा सम्बोधन गर्दै उनले समाजवादको यात्रालाई केवल आदर्श होइन, आजको यथार्थ र आवश्यकता पनि भएको बताए।
उनले वर्तमान अवस्थामा मुलुकले गहिरो आर्थिक तथा सामाजिक रूपान्तरणको माग गरिरहेको उल्लेख गर्दै कृषिमा आत्मनिर्भरता, युवा रोजगारी, र समावेशी विकासलाई प्राथमिकता दिनुपर्ने बताए। “हाम्रा युवाले परदेश जानुपर्ने बाध्यता अन्त्य हुनुपर्छ,” उनले भने, “देशभित्रै उत्पादन, रोजगारी र सम्मानित जीवनको व्यवस्था गर्न सके समाजवादको यात्रा साकार हुन्छ।”
महासचिव गुरुङ्गले शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत आवश्यकतामा जनताको पहुँच अझै पनि सीमित रहेको उल्लेख गर्दै, माओवादी आन्दोलनले उठाएका मुद्दाहरूलाई व्यवहारमा उतार्ने बेला आएको स्पष्ट पारे। उनका अनुसार, आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिहरू महत्त्वपूर्ण भए पनि परिवर्तनको अन्तिम लक्ष्य अझै अधुरो छ। “अब हामीले सोच्ने समय होइन, गर्ने समय हो,” उनले थपे।
कार्यक्रममा नयाँ नेतृत्व चयन गर्दै महेन्द्र विश्वकर्माको अध्यक्षतामा ४५ सदस्यीय मालिका गाउँ कमिटी गठन गरिएको छ। यस अधिवेशनले स्थानीय पार्टी संरचनालाई अझ सुदृढ गर्दै संगठनात्मक तथा वैचारिक स्तरमा नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।