महेश बोहरा,जेठ ७ गुल्मी ।।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघामा रहेको एक बिद्यालले समयम सयममा सिजन अनुसारका तरकारीजन्य उत्पादन गदै आएको छ । शिक्षा केवल किताबको पानामा मात्र सीमित हुनु हुदैन यही भनाइलाई व्यवहारमा उतार्दै ग्वाघा माध्यमिक विद्यालयका बिद्यार्थी र शिक्षकहरुले अकबरे खुर्सानीका विरुवा रोपेका छन् । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले हालै ५ सय बिरुवा अकबरे खुर्सानी रोप्ने कार्य गरेका हुन । उक्त ठाउँमा यसअघि लसुन खेती गरिएको थियो, जसबाट २५ हजार रुपैयाँ आम्दानी भएको थियो । खुर्सानी खेतीबाट अझ राम्रो आम्दानी हुने अपेक्षा गरिएको छ । विद्यालयको उत्तरतर्फ स्कुस खेती छ भने पश्चिमतर्फ पनि सिमी, बोडी र अदुवा लगाइएको छ । विद्यालय परिसरमै च्याउको खेती पनि सञ्चालनमा छ । यी सबै काममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सक्रिय छन् ।
विद्यालयले उत्पादनबाट प्राप्त हुने आम्दानी विद्यार्थी कल्याणकारी कोषमा जम्मा गर्दै आएको छ । “यस कोषबाट छात्रवृत्ति, खेलकुद र अन्य शैक्षिक गतिविधिमा सहयोग हुँदै आएको छ,” विद्यालयका प्रधानाध्यापक प्रकाश थापाले जानकारी दिनुभयो । विद्यालयले करिब एक रोपनी जमिनमा स्कुस खेती गरेको छ भने अन्य पौन रोपनी क्षेत्रमा खुर्सानी, सिमी, अदुवा, बोडी जस्ता बाली लगाइएको छ । पढाइसँगै कृषि अभ्यास गर्दै गरेका विद्यार्थीहरू मेहनत, सीप र उत्पादनको महत्व सिक्दै छन् । ग्वाघा माविको यो प्रयास अरू विद्यालयका लागि पनि प्रेरणादायी बन्न सक्छ ।