महेश बोहरा, जेठ ११, गुल्मी – गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूलाई चिनाउने, प्रवर्द्धन गर्ने र दीगो पर्यटनको सम्भावना खोज्ने उद्देश्यले एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम चन्द्रकोट गाउँपालिका–४, रेमीस्थित टिमुरे सामुदायिक होमस्टेमा आयोजना गरिएको थियो।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल र चन्द्रकोट गाउँपालिकाको संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालकी अध्यक्ष शकुन्तला देवकोटाको अध्यक्षता र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी र पर्यटनविद् प्रा.डा. प्रेम शर्मा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा वडाध्यक्षहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाशचन्द्र शर्मा, राजनिती दलका प्रतिनिधि, पर्यटन व्यवसायी, होमस्टे सञ्चालक, पत्रकार र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रियामा चन्द्रकोटभित्र लुकेर रहेका पर्यटकीय सम्भावनाहरूको पहिचान, प्रवर्द्धन र संरक्षणबारे महत्वपूर्ण छलफल गरिएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो । स्थानीय स्रोतको उपयोग, पूर्वाधारको विकास र समुदायको सक्रिय सहभागिताबाट चन्द्रकोटलाई पर्यटकीय नक्शामा स्थापित गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमपछि सहभागीहरूले टिमुरे होमस्टेको सेवा, व्यवस्था र सम्भावनाबारे अवलोकन पनि गरेका थिए।
यस किसिमका कार्यक्रमले चन्द्रकोट जस्ता सम्भावनायुक्त स्थानहरूलाई चिनाउन, स्थानीय पर्यटन व्यवसायलाई हौसला दिन र दीगो पर्यटन विकासमा मद्दत पुर्याउने आयोजकले अपेक्षा राखेको छ ।