सूर्य सुनार
असार १४, गुल्मी
मुसिकोट नगरपालिकाले पछिल्ला दिनमा सामाजिक सञ्जालमा नगरप्रमुखमाथि गरिएका आरोपहरूलाई खारेज गर्दै आधिकारिक धारणा सार्वजनिक गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख जीवन खरेलले इन्धन खर्चलगायतका विषयमा तथ्यसहित जानकारी दिएका हुन् ।
उनका अनुसार कार्यालयसँग एक मात्र सरकारी गाडी छ भने अन्य गाडी आवश्यकता अनुसार भाडामा लिइने गरेको छ, जुन मितव्ययी अभ्यास हो। आफूहरु नगरवासीको सेवामा समर्पित रहेकाले यस्ता सामाजिक संजालमा आएका झुटा प्रचारबाट विचलित नहुने बताउँदै उनले तथ्यहीन टिप्पणीको पछि नलाग्न सबै नगरवासीलाई आग्रह समेत गरेका छन् ।
इन्धन दुरुपयोगको आरोपप्रति स्पष्टीकरण दिँदै प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले एकै दिनको ५४० लिटर डिजेलको विवरण प्रणालीमा प्राविधिक समस्या भएकाले ढिलो प्रविष्टि गरिएको बताएका छन्। नगरपालिकाको कामका लागि अन्य सावारी आवश्यक परेमा भाडामा लिएर काम गर्दै आइरहेको उल्लेख प्रशासकीय अधिकृत गिरीले गाडी र इन्धन प्रयोगसम्बन्धी विवरण नियमानुसार सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली Pams मा प्रविष्टि गरिदैं आएको बताए ।
नगर प्रवक्ता हरिहर सापकोटाले एकै पदाधिकारीले फरक–फरक स्थानमा गाडी प्रयोग गरेको भन्ने आरोप झूठो भएको स्पष्ट पार्दै सबै सवारी सिफारिसअनुसार प्रयोग भएको बताएका छन्। नगरपालिकाले यस्ता भ्रमपूर्ण प्रचारप्रति आपत्ति जनाउँदै नगरवासीलाई तथ्यहीन टिप्पणीमा नअल्झन आग्रह गरेको छ।
एकैदिन अगाडी नगरप्रमुख खरेलले एकै दिन ५ सय ४० लिटर (डिजेल) इन्धन सवारीमा प्रयोग गरेको भन्दै सामाजिक संजालमा आलोचना भएको थियो । इन्धन दुरुपयोगका बिषयमा मुसिकोट नगरपालिका वडा नम्बर –२ का वडाध्यक्ष रविन्द्र केसीले आफ्नो फेसबुकमा पोस्ट गरेका थिए ।