महेश बोहरा, असार १५ गुल्मी — “धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय धान दिवस २०८२ को अवसरमा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आज विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अन्तर्गत गत वर्ष चन्द्रकोट गाउँपालिका क्षेत्रभित्र सबैभन्दा बढी धान उत्पादन गरेका दुई जना कृषकलाई नगद पुरस्कार र प्रशंसापत्रसहित सम्मान गरिएको छ । सम्मानित हुनेमा चन्द्रकोट–७ का कृषक खिमलाल भण्डारी र चन्द्रकोट–४ का कृषक कमल अर्याल रहेका छन्।
यसै अवसरमा धान रोपाईँ कार्यक्रममा व्यवस्थापन र समन्वयमा विशेष योगदान पु¥याउने पिपलबोट आमा समूहलाई पनि नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो । धान दिवसकै अवसर पारेर परम्परागत बाजागाजासहित रोपाईँ कार्यक्रम सम्पन्न गरिएको थियो भने सहभागी कृषक र अतिथिहरुलाई दही–चिउरा खुवाएर रमाइलो गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज केसी, उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका कर्मचारी, वडा अध्यक्षहरु तथा कृषकहरुको उत्साहजनक सहभागीता रहेको थियो । गाउँपालिकाले कृषकको मेहनत र लगनशीलतालाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमले थप ऊर्जा दिने विश्वास व्यक्त गरेको छ । साथै आगामी दिनमा कृषकको क्षमता अभिवृद्धि र उत्पादन वृद्धि गर्न थप सहकार्य गर्ने प्रतिबद्धता पनि गाउँपालिकाले जनाएको छ ।