सूर्य सुनार
साउन १९, गुल्मी
मुसिकोट नगरपालिका–३, ठुलापोखरास्थित बडागाउँ स्वास्थ्य चौकीमा भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) सेवा शुभारम्भ भएको छ । गर्भवती महिलालाई लक्षित गर्दै सुरु गरिएको सेवा नगरप्रमुख जीवलाल खरेल जीवनको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच औपचारिक रूपमा शुभारम्भ गरिएको हो।
अब वडा नं २, ३ र ४ का सर्वसाधारणले अल्ट्रासाउण्ड तथा भिडियो एक्स–रे सेवा लिनकै लागि तम्घास वा वामीटक्सार जानुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्। सेवा शुभारम्भ कार्यक्रममा वडाध्यक्ष शंकर रायमाझी, नगरप्रमुख जीवलाल खरेल, स्थानीय स्वास्थ्यकर्मीहरू तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
नगरप्रमुख खरेलले कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले गाउँमै सुलभ सेवा पु¥याउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताए। वडाध्यक्ष रायमाझीले स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सुरु हुनु गाउँका आमाबुबा र आमाहरुका लागि ठूलो राहत भएको टिप्पणी गरे।
बडागाउँ स्वास्थ्य चौकीमा सुरु गरिएको यस निःशुल्क सेवा मार्फत गर्भावस्था परीक्षण लगायत स्वास्थ्य समस्या पहिचान गर्न सहज हुने वडाध्यक्ष शंकर रायमाझीले बताउनुभयो ।
सेवा विस्तारसँगै गाउँमै स्वास्थ्य पहुँच सम्भव भएको भन्दै स्थानीयवासीले पनि हर्ष व्यक्त गरेका छन्। यस कदमले गाउँमै बसेर भरपर्दो स्वास्थ्य सेवा पाउने वातावरण बनाउने अपेक्षा गरिएको छ।