महेश बोहरा, साउन ३०, गुल्मी । चन्द्रकोट गाउँपालिका–५ ग्वाघामा सुरक्षित तथा स्वच्छ खानेपानी विस्तारसँगै धुवाँखर्क क्षेत्रलाई सफा तथा स्वच्छ समुदाय घोषणा गरिएको छ। सोही अवसरमा ग्वाघाका दुई वटा खानेपानी योजनाको उद्घाटनसमेत गरिएको छ।
चन्द्रकोट गाउँपालिकाको नेतृत्वमा धुवाँर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको जनश्रमदान, पालिका तथा वडा साझेदारी र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) परियोजनाको सहकार्यमा धुवाँखर्क खानेपानी तथा सरसफाइ योजना सम्पन्न गरिएको हो। उक्त योजनाका लागि ४० लाख २६ हजार ७९३ रुपैयाँ खर्च भएको छ।
आयोजनामार्फत धुवाँर्कमा ६० घरधुरीमा सुरक्षित तथा स्वच्छ खानेपानी विस्तार गरिएको छ भने ६० वटा धारा निर्माण भएका छन्। यसबाट ३८५ जना नागरिक प्रत्यक्ष लाभान्वित भएको जनाइएको छ।
त्यस्तै, सौरबोट–मसरा–चौरखर्क खानेपानी योजना पनि चन्द्रकोट गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) परियोजना र स्थानीय जनश्रमदानमार्फत सम्पन्न भएको छ। उक्त योजनाका लागि २८ लाख ४७ हजार ७६० रुपैयाँ खर्च भएको छ। योजनाअन्तर्गत मसरामा ३४ वटा धारा निर्माण भएका छन्।
दुवै खानेपानी योजनामा गरी जम्मा ९४ वटा धारा निर्माण सम्पन्न भएका छन् भने योजनाबाट ५६५ जना नागरिक लाभान्वित भएका छन्।
कार्यक्रममा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी, उपाध्यक्ष विष्णुप्रसाद भण्डारी तथा वडा नं. ५ का वडाध्यक्ष पृथबहादुर कार्कीलगायत स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति र स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रममा आयोजनालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै धुवाँखर्क बासीलाइ सफा तथा स्वच्छ समुदाय घोषणा गरिएको हो। साथै, आगामी दिनमा खानेपानी तथा सरसफाइको दिगोपनाका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।