गुल्मी — पछिल्लो समय सुधार गृहसँगै उद्योगको रूपमा समेत विकास हुँदै आएको जिल्ला कारागार कार्यालय गुल्मीले मालिका गाउँपालिका–८ स्थित थानपती आधारभूत विद्यालयलाई शैक्षिक प्रयोजनका लागि रोस्ट्रम उपहार स्वरूप सहयोग गरेको छ।
विद्यालयले निरन्तर राम्रो काम गर्दै गएको भन्दै कारागार कार्यालयले आफ्नो तर्फबाट सहयोग गरेको कार्यालयले जनाएको छ। कारागारका आन्तरिक प्रशासन शाखा प्रमुख विष्णु थापाले “विद्यालयले उल्लेखनीय प्रगति गरिरहेकाले आफ्नो तर्फबाट सहयोग गरेको बताउनु भयो ।
कारागार व्यवस्थापक हरि थापाले पनि शैक्षिक संस्था जस्तो महत्त्वपूर्ण क्षेत्रमा सहयोग गर्न पाउँदा गर्व लागेको प्रतिक्रिया दिनुभयो।
जिल्ला कारागार कार्यालयका प्रमुख रेश्मी राज पन्थीले विद्यालयको अनुरोधअनुसार फर्निचर उपलब्ध गराएको उल्लेख गर्दै “थानपती आधारभूत विद्यालयले पछिल्लो समय गरेका काम हाम्रो मूल्याङ्कनमा पनि सकारात्मक देखिएको छ, त्यसैले सहयोग गरेको उल्लेख गर्नु भयो ।
उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काले विद्यालयलाई सहयोग गर्ने हातहरू बढिरहेकोमा आभार व्यक्त गर्दै, “शिक्षा क्षेत्र सबैको सरोकार हो, यसैगरी सबैले हातेमालो गर्न आग्रह गर्नु भयो ।
हाल थानपती आधारभूत विद्यालयले शैक्षिक गतिविधिसँगै नयाँ र रचनात्मक कार्यक्रमहरू अघि बढाउँदै आएको छ ।