गुल्मी, १४ असार धान दिवसको अवसर पारेर गुल्मीमा वृहत् धान रोपाइँ गरिने भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाको आयोजनामा राष्ट्रिय धान दिवसको अवसर पारेर वृहत् धान रोपाइँ गरिने भएको हो । गाउँपालिकाले गाउँपालिकाको शान्तिपुरमा रहेको कुलबहादुर पुनको खेतमा वृहत् धान रोपाइँ गर्ने भन्दै उपस्थितिका लागि चन्द्रकोटवासीलाई आग्रह गरेको छ । चन्द्रकोट गाउँपालिकामा रहेका धान खेती गर्ने किसानको मनोबल उच्च राख्न र श्रमको सम्मान गर्नको लागि १९ औं राष्ट्रिय धान दिवसको अवसरमा बुधबार वृहत् धान रोपाइँको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीले जानकारी दिए । यस वर्ष ‘धान बालीमा जैविक विविधताको उपयोग(आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । प्रत्येक वर्षको असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिन्छ ।