जिल्ला समन्वय समिति गुल्मीको निर्वाचन असार १ गते हुने

0 130

 

जेठ २७,२०७९ गुल्मीः जिल्ला समन्वय समिति गुल्मीको निर्वाचन आगामी असार १ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, गुल्मीले असार १ गते निर्वाचन हुनेगरी जिल्ला समन्वय समिति निर्वाचन –२०७९ को कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार बुधबार आयोगले २४ जना मतदाताहरुको नामावली सार्वजनिक गरेको छ ।

त्यस्तै जेठ २७ गते मतदाता नामावली सच्याउन निवेदन दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । २८ गते मतदाताको विरोधमा उजुरी दिने र उजुरी उपर जाँचबुझ गर्ने एवम् २९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ad

३० गते उम्मेदवारको मनोनयन–पत्र दर्ता गर्ने र उम्मेदवारको सूचि प्रकाशन गर्ने कार्यक्रम छ । जेठको ३१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिए ।

कार्यालयले मतदानको लागि २४ जना मतदाताको नाम सार्वजनिक गरेको छ । जसअनुसार जिल्ला १२ पालिकाका २४ जना मतदाता छन् । स्थानीय तहका प्रमुख÷अध्यक्ष एवम् उप–प्रमुख÷उपाध्यक्ष जिल्ला समन्वय समितिको निर्वाचनको लागि मतदाता हुन पाउँछन् ।

के छ तयारी

समन्वय समितिको निर्वाचनका लागि काँग्रेस र एमालेका १०÷१० एवम् माओवादी केन्द्रका चार मतदाता छन् । कालिगण्डकीमा माओवादी–एमाले तालमेलबाट ‘सूर्य’ चिन्हबाट माओवादी केन्द्रको उम्मेदवार विजयी भएकोले माओवादीले आफ्नो पाँच र एमालेको नौ मत रहेको दाबी गरेको छ ।

पाँच दलीय गठबन्धनको तर्फबाट काँग्रेसका दोर्ण खत्रीलाई प्रमुख बनाउने तयारी छ । गठबन्धनको तर्फबाट उप–प्रमुखको उम्मेदवार भने अझै टुंगो लागेको छैन । शुक्रबार बस्ने बैठकले उप–प्रमुखको उम्मेदवार टुंगो लगाउने माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए ।

एमालेका सचिव गणेश श्रीपालीले भने पार्टीको तर्फबाट प्रमुख÷उप–प्रमुखमा उम्मेदवारी दिने वा नदिने भन्ने बिषय नै टुंगो नलागेकोले उम्मेदवार नटुंगाएको प्रतिक्रिया दिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।