लगातारको कर्मले कृषिबाटै मनग्य आम्दानी

0 91

सन्तोष महतारा
असार २२, २०७९ गुल्मीः गुल्मीका एक कृषक परिवारले लगातारको कर्मबाट मानिसले आफ्नो लक्ष्य भेटाउन सकिने कुरा कृषि व्यवसायबाट प्रमाणित गरेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ का ज्ञवाली परिवारले कृषिमा लगातारको कर्मले सफलता हासिल गरेका हुन् ।

३० वर्षका कमल ज्ञवालीले आजभन्दा १३ वर्ष अगाडि हजारौंको संख्यामा कुखुरापालन सुरु गरे । कुखुरालाई खुवाउने पानीको टंकीमा बिष हालिएका कारणले १२ लाख रुपैयाँका कुखुरा एकैरातमा मरेर सकिए । कुखुरापानलबाट १२ लाख रुपैयाँको क्षति बेहोरेका ज्ञवालीले परिवारका सबै सदस्यको सहयोगमा टमाटर खेती सुरु गरे । टमाटर खेतीको पहिलो वर्ष ७ लाख क्षति बेहोर्नु प¥यो । उत्पादित टमाटर नपाक्दै सडेर सकिए । दुई व्यवसायको सुरुवाती चरणमा १९ लाख आर्थिक क्षति बेहोरेका ज्ञवाली आफ्नो कर्मबाट कहिल्यै बिचलित भएनन् । २३ वर्षका भाई कपिल ज्ञवाली र दाजु कमलले दाजुभाई कृषि फर्म दर्ता गरेर अझै व्यवस्थित बनाए ।

ज्ञवालीको परिवारका ६ जना खटेर टमाटर खेतीलाई अहिले ५२ रोपनी जग्गामा विस्तार गरे । उनले वार्षिक रुपमा अहिले ८ देखि ९ सय क्विन्टर टमाटर विक्री गर्दै आइरहेका छन् । उनले फर्मबाट हाल प्रतिकिलोग्राम ७० देखि ७५ रुपैयाँमा टमाटर विक्री गरेका छन् । मुल्य घटबढ भएपनि टमाटरको लागि बजारीकरणको कुनै समस्या नभएको दाजु कमलले बताए ।

ad

व्यवसायको सुरुवाती चरणमा भएको क्षति पूरा गरेर अहिले पनि मासिक रुपमा लाखौंको कारोबार भएको कमलले बताए । “हप्तामा ३ देखि ४ पटक टमाटर गाडीमा बुटवल पठाउँछौं, जून एक पटकमा एक लाख बराबरको टमाटर जाने गर्दछ ।” कमलले भने, “लगातारको कर्मले अहिले परिवारको खर्च कटाएर पनि एक÷दुई लाख आम्दानी हुन्छ ।” उनको कर्मबाट व्यवसायीक रुपमा कृषि गर्नेहरु प्रेरित हुन थालेका छन् ।

उनको कृषि फर्मममा अनुगमन गर्न पुगेका जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले ज्ञवाली परिवारको खुलेर प्रशंसा गरे । कमल र कपिलसँगै सिङ्गो घरपरिवारको मेहनत देखेर आफु प्रफुल्लित भएको भन्दै समन्वय प्रमुख खत्रीले अझै थुप्रै कृषक ज्ञवालीको परिवार जस्तै व्यवसायीक रुपमा लाग्नुपर्ने बताए । कृषि ज्ञान केन्द्रको आयोजनामा जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, कृषि ज्ञान केन्द्रका प्रमुख, विभिन्न कार्यालयका प्रमुख र पत्रकार लगायतले उनको कृषि फर्मको अनुगमन गरेका थिए ।

उनले संरक्षित संरचनामा प्राङ्गारीक तरकारी उत्पादन कार्यक्रमको लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र मार्फत ५० प्रतिशत अनुदान हुने गरेर ४ लाख लाख रुपैयाँ अनुदान पाएका थिए । जिल्लाबाट अनुगमन गर्न पुगेको समूहले छत्रकोट गाउँपालिका वडा नम्बर ४ रुप्सेमा रहेका सम्झना फलफूल तथा कफी नर्सरी फर्म र द हिमालयज एग्रो फर्म नेपालको अनुगमन पनि गरेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।