सन्तोष महतारा
साउन १३,२०७९गुल्मीः पछिल्लो समय कृषि क्षेत्रमा प्रभावकारी बन्दै गएको उत्पादनमा आधारित अनुदान मालिका गाउँपालिकाले रोकेको छ । गुल्मीको मालिका गाउँपालिकाले कृषकहरुलाई दिने गरेको उत्पादनमा आधरित अनुदान रोकेको हो ।
विगतका वर्षहरुमा कृषकहरुले उत्पादन गरेका कृषि र पशु उपजलाई उत्पादनको आधारमा कम्तीमा एक सय केजी उत्पादन गर्न सके प्रति केजी एक सय रुपैयाँ अनुदान दिने गरिन्थ्यो । उत्पादनमा आधरित अनुदान वितरण सम्बन्धि कार्यविधि बनाएर अघिल्लो नेतृत्वले दिदै आएको अनुदान नेतृत्व परिवर्तनपछि रोकिएको किसानहरुको गुनासो छ ।
वर्तमान जनप्रतिनिधिहरुले किसानहरुलाई नानाथरी सपना देखाएर चुनाव जितेको अनि चुनाव जितेपछि किसानको हितविपरीत काम गर्न थालेको नाम नबताउने सर्तमा एक किसानले बताए ।
‘जनतालाई भ्रमको खेती गर्न प्रचारबाजी नारा लगाएर चुनाव जित्ने अनि किसानले पाइरहेको सुविधा पनि खोस्ने उनले गुनासो पोख्दै भने, “यस्ता पनि जनप्रतिनिधि हुन्छन् ” हुने बिरुवाको चिल्लो पात भनेजस्तो नवनिर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकालको सुरुमा खासै राम्रो लक्षण नदेखिएको उनको भनाई छ ।
गत आर्थिक वर्षमा कृषि र पशु उपजको उत्पादन वापत प्रतिकिलो एक सय रुपैयाँ पाउनको लागि प्रतिकिलो १० रुपैयाँ सहकारीलाई तिरिसकेका किसानहरु यतिबेला निकै आक्रोशित भएका छन् । गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले उत्पादनमा आधारित अनुदान वापत ८ वटा वडाका किसानहरुलाई डेढ करोड भन्दा बढी खर्च हुने भएकोले दिन नसकेको बताए । गत आर्थिक वर्षमा बजेट नभएको र यसवर्ष उत्पादनमा आधारित अनुदानलाई बजेट विनियोजन नगरेको अध्यक्ष अर्यालले जानकारी दिए ।