नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीद्धारा सामुदायिक विद्यालय बन्दको आव्हान

0 168

नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीले जिल्लाभरका सामुदायिक विद्यालयहरुमा बन्दको आव्हान गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद्को राष्ट्रिय समितिको निर्णय अनुसार जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमा बन्दको आव्हान गरेको हो । परिषद्ले गरेको बन्दलाई नेपाल शिक्षक महासंघ गुल्मीले पनि ऐक्यबद्धता जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघ गुल्मीका अध्यक्ष हिरासिंह सराङ्कोटीले एउटै संस्थामा कार्यरत शिक्षकहरुको तलब भत्ता वृद्धि हुँदा विद्यालय कर्मचारीको तलब भत्ता बृद्धि नहुनु कुनै पनि श्रमजिवीका लागि मान्य नहुने बताउनुभयो । न्युन वेतनबाट राष्ट्र सेवामा अहोरात्र खट्दै आएका श्रमजिवी विद्यालय कर्मचारीहरुको पेशागत सुनिश्चितता एवम् आधारभूत सेवा सुविधाका लागि गरिएको प्रयास आजसम्म पनि सरकारले सम्बोधन नगर्नु दुर्भाग्यपूर्ण रहेको सराङ्कोटीको भनाई छ । विद्यमान अवस्थामा नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको आव्हानमा गरिएको आन्दोलनमा नेपाल शिक्षक महासंघ जिल्ला समिति गुल्मीको पूर्ण समर्थन र ऐक्यबद्धता रहेको बताउनुभयो । नेपाल शिक्षक महासंघ राष्ट्रिय कार्यसमिति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बीच विगतमा भएको सम्झौता बमोजिम आम शैक्षिक मुद्धा र सबै पेशागत मागहरु समाधान गर्न तुरुन्त संघीय शिक्षा ऐन जारी गर्न सरकार समक्ष जोड्दार माग समेत गरिएको छ ।

प्रेस विज्ञप्तिमा विद्यालय कर्मचारीहरुको मागहरु यथाशीघ्र सम्बोधन गरी उनीहररुलाई विद्यालयमा फर्की उच्च मनोबलका साथ काम गर्ने वातावरण तयार गर्न समेत ध्यानाकर्षण गराइएको छ । यता, नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति गुल्मीका अध्यक्ष श्यामलाल कुँवरले सरकारले आफ्ना मागहरु सम्बोधन नगरेकाले आन्दोलनमा होमीनुपरेको दाबी गर्नुभयो । देशभर रहेका ४० हजार विद्यालय कर्मचारी आफुहरुलाई सरकार विभेदपूर्ण व्यवहार गरेको भन्दै आन्दोलमा होमिएका अध्यक्ष कुँवरले बताउनुभयो । “गुल्मी जिल्लामा रहेका ५२२ जना विद्यालय कर्मचारीहरु पनि यतिबेला आन्दोलनमा छौं । यथाशीघ्र मागहरु सम्बोधन गर्न अग्रह गर्दछौं ।” उहाँले भन्नुभयो, “यस जिल्लामा केहि स्थानीय तहहरुले संघीय सरकारले उपलब्ध गराउने अनुदानमा थप गरी तलब उपलब्ध गराएपनि अधिकांश स्थानीय तहले कार्यान्वयनमा लैजान सकेका छैनन् ।” सरकारले उपलब्ध गराउने सेवा सुविधामा एकरुपता हुनुपर्ने आफुहरुको माग रहेको अध्यक्ष कुँवरले बताउनुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।