महेश बोहरा, फाल्गुण १ गुल्मी,
गुल्मीको चन्द्रकोट गाउँपालिकामा निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ । फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाइ निस्सा वितरण गरिएको हो । गाउँपालिकाको सभाहलमा सोमबार सम्पन्न कार्यक्रममा ५६ जनालाई निस्सा प्रदान गरिएको हो । राष्ट्रिय भूमी आयोग जिल्ला समिती गुल्मीका अध्यक्ष राममल्ल ठकुरी, चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी, उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसाल, राष्ट्रिय भूमि आयोग गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डे, सदस्यहरु विर बहादुर गुरुङ, सीता बलाल लगायत भूमिहिन सुकुम्बासीको उपस्थितमा निस्सा वितरण गरिएको थियो । निस्सा प्राप्त गरे पछि भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु अब चाँडै लालपुर्जा पाउने आशामा बसेका छन ।
भूमि आयोग गुल्मीका अध्यक्ष ठकुरीले गुल्मी जिल्लाका १२ स्थानीय तह मध्ये चन्द्राकेट गाउँपालिका निस्सा वितरण गर्ने तेश्रो पालिका रहेको बताउनुभयो । उहाँले गाउँपाकिाले छिटो गरेको खण्डमा लालपुर्जा वितरणको काम पनि चाँडो हुने बताउनुभयो । यो जग्गा प्राप्ती होइन । जग्गा नाप्ने बेलामा यही निस्सा देखाउनुपर्छ,’ ठकुरीले भन्नुभयो, ‘निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो । अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढ्छ ।’ साथै विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पुरा गरेर निस्सा वितरण गरिने उहाँको भनाई छ ।
यस्तै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि युवराज केसीले गाउँपालिकाले भोली देखि नै लालपुर्जा प्राप्तीका लागी आवश्यक कार्य गर्न सहजीकरण गर्ने बताउनुभयो । उहाँले जनयुद्धको जगमा आजको अवस्था आएको उल्लेख गदै केही छुटेको खण्डमा पक्रिया पुरा गरी समावेश हुन पनि आग्रह गर्नुभएको छ । उहाँले अहिले निस्सा नपाएका नागरिकहरुलाई पनि निराश नहुन आग्रह गर्दै सबैको प्रक्रियागत हिसाबले काम हुने भएकाले आउने दिनमा काम हुने बताउनुभयो । चन्द्रकोट गाउँपालिकामा १० जनाको पक्रिया नपुगेकाले पक्रियामा रहेको बताउनुभयो । चन्द्रकोट गाउँपालिकाका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले लामो समयसम्म निस्सा नपाएका नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको उल्लेख गर्नुभयो । उहाँले कार्यमा सहयोग गर्न सम्पूर्णलाई धन्यवाद दिदै तोकिएको समय सिमामा कार्य सम्पन्न गर्ने तर्फ ध्यान दिर्नुपर्ने धारण राख्नुभयो ।
जिल्लामा यस भन्दा अगाडी रुरुक्षेत्र गाउँपालिकामा १५८ जनालाई र मुसिकोट नगरपालिकामा १६५ जनालाई निस्सा वितरणको काम सम्पन्न भएको छ । अब फागुन ५ गते मदाने गाउँपालिकामा निस्सा वितरण कार्य गरिने राष्ट्रिय भूमी आयोग गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेले बताउनुभयो । उहाँका अनुसार अब थप अनुगमन गरेर निस्सा वितरण भएको ठाउँमा जग्गा वितरणका लागि नापजाँच पक्रिया सुरु हुने बताउनुभयो । जिल्लाका १२ स्थानीय तहमा २८५ जना भूमिहीन दलित, २३६ जना भूमिहीन सुकुम्बासी र १ हजार ६२६ जना गरी कूल २ हजार १४७ जनाको तथ्यांक रहेको राष्ट्रिय भूमी आयोग गुल्मीले जनाएको छ ।