सत्यवतीमा बाँसबाट हस्तकला बनाउने तालिम

0 345

महेश बोहरा
जेठ ०८,२०८१ गुल्मी,
अहिले विभिन्न ठाउँहरुमा तालिम, गोष्ठी र सेमिनारका कार्यक्रमहरु धमाधम सञ्चालन भएका छन । केही तालिमहरु प्रभावकारी नभएको गुनासो आइरहेको बेला बाँसबाट विभिन्न हस्तसामाग्री बनाउने तालिम फलदायी भएको सहभागीहरुको भनाई छ । यसैको एक उदाहरण हो ३९० घण्टे बाँसबाट विभिन्न सामाग्री बनाउने तालिम ।

केही समय यता तालिम सञ्चालनका लागी मात्र सञ्चालन गर्ने प्रवृति बढदै गएको देखिन्छ । तालिम लिएकाहरु जुनसुकै तालिम लिन पनि पछि पदैनन् । यसैका कारण तालिम पश्चात व्यवसायिक बन्न सक्दैनन । तर गुल्मीको सत्यवती गाउँपालिकामा सञ्चालन भएको तालिममा भने अल्लि फरक देखियो ।

घरेलु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीको आयोजना तथा सत्यवती गाउँपालिकाको समन्वयमा ३९० घण्टे बाँसबाट विभिन्न सामाग्री बनाउने तालिम सम्पन्न भएको छ । ‘सीप सिकौं ः आत्मनिर्भर बनौं’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको सो तालिममा १५ जनाले प्रत्यक्ष तालिममा १३ प्रकारका बाँसका सामाग्री बनाउन सिकेका छन । उनिहरुले तालिम मात्र लिएनन बरु व्यवसायिक रुपले नै सञ्चालन गर्ने प्रण पनि गरे । आफ्नो वरपर यतिकै खेरा जाने बाँसबाट समान बनाएर बेच्न सके आयआर्जनमा बृद्धि हुने उनिहरुको आशा छ । समुह बनाएर यसलाई निरन्तरता दिने सहभागीहरुले बताए ।

ad

छत्रकोट गाउँपालिका वडा नम्बर १ का युवा व्यवसायी अर्जुन न्यौपानेले बाँसबाट विभिन्न सामाग्रीहरु बन्ने बताउनुभयो । उहाँले बासबाट बन्ने सामाग्रीहरुको बारेमा विदेशमा सिप समेत सिकेको बताउनुभयो । उहाँले बासँको सामाग्रीले प्लाष्टिकजन्य सामाग्रीलाई विस्थापन गर्न सक्ने बताउनुभयो ।

सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गरी स्वरोजगार बन्न आग्रह गर्नुभयो । उहाँले यसका लागि आवश्यक सहयोग पालिकाले गर्ने बताउँदै सीप नै महत्वपुर्ण भएको उल्लेख गर्नुभयो । उहाँले रोजगारी सिर्जना गर्ने पालिकाको नीति रहेको बताउनुभयो ।

मागमा आधारित ३९० घण्टे बाँसबाट विभिन्न फर्निचर बनाउने तालिम सत्यवती गाउँपालिकामा प्रदान गरेको आयोजक संस्था घरेलु तथा साना उद्योग कार्यालय तम्घासका कार्यालय प्रमुख सुरेन्द्र भण्डारीले बताउनुभयो । उहाँले व्यवसायिक रुपमा गर्न चाहानेलाई आगामी दिनमा थप तालिमको समेत व्यवस्था गर्ने बताउनुभयो । यो तालिम सिटीइभिटिईबाट मान्यता प्राप्त भएकाले सीप परिक्षण हुने समेत बताउनुभयो ।

समापन कार्यक्रममा आयोजक संस्था घरेलु तथा साना उद्योग कार्यालय तम्घासका कार्यालय प्रमुख सुरेन्द्र भण्डारीको अध्यक्षता, गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आतिथ्यता तथा त्यस पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालको बिशेष आतिथ्यतामा कार्यक्रम गरिएको थियो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।