अनिल खत्री
१२ पुस, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले जिपलाइन सञ्चालनमा ल्याएको छ । पालिकाले निर्माण गरेको जिपलाइनको शुक्रबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्री सहित जिल्लाका १२ वटा स्थानीय सरकार प्रमुख तथा छिमेकी जिल्लाका स्थानीय सरकार प्रमुखहरको सहभागितामा जिपलाइन शुभारम्भ गरिएको छ । जिपलाइनको शुभारम्भ कार्यक्रममा स्थनीय सरकार प्रमुखहरु साहसिक खेल जिपलाइन चढेर त्यसको रमाइलो अनुभूति समेत लिएका थिए ।
पालिकाले पर्यटकीय गनतव्य बनाउने उदेश्यले छत्रकोट देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरि जिपलाइन निर्माण गरेको छ । जिपलाइनको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख द्रोर्ण खत्रीले स्थानीय सरकारले पर्यटकीय क्षेत्रमा गरेको लागानीले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
संरचना निर्माण गर्नु भन्दा पनि यसलाई दिगो रुपमा सञ्चलन कसरी ल्याउन सकिन्छ भनेर ध्यान दिनुपर्ने खत्रीले जोड दिनुभयो । गाउँपालिकाले ‘रुरु रेसुङ्गाको धार्मिक आस छत्रकोटमा बसौं वास’ भन्ने नीति नै बनाएर पर्यटकीय गनतव्य निर्माण कार्यलाई तिब्र अगाडी बढाएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
शुभारम्भ कार्यक्रममा पालिका प्रमुख पाण्डेले जिल्लाका अन्य स्थानीय सरकाले एउटै खालका पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु नगर्न आग्रह गरे । उनले सबैले फरक फरक खालका संरचना निर्माण गरेको खण्डमा जिल्ला भर नै घुम्न लायक बन्ने अध्यक्ष पाण्डेले बताए ।
गाउँपालिकाको वडानम्बर–३ को छत्रकोट देवालय मन्दिर देखि अर्को भगवती मन्दिर–लुम्छा सम्म पुग्ने गरि जिपलाइन निर्माण कार्य गरिएको छ । यसले त्यसक्षेत्रमा रहेका दुईवटा मन्दिर जोडेको छ ।
जसले गर्दा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने स्थानीय भुवन भुसालले बताए । पालिकाले पर्यटन प्रवद्र्धन गर्न पालिका भित्र संरचना निर्माणसँगै धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गरेर आन्तिरिक पर्यटनलाई थप प्रभावकारी बनाउने गरि अगाडी बढेको छ ।
छत्रकोट गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा गरेको यसकार्यले जिल्लाका निम्ति सुखद पक्ष रहेको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन । उनले यहाँको पर्यटन प्रवद्र्धनमा आफनो पालिकाको तर्फबाट साथ सहयोग रहने बताइन ।
अघिल्लो आर्थिक वर्षबाट निर्माण सुरु भएको जिपलाइन निर्माण कार्य तोकिएको मिति अगाबै सम्पन्न भएको छ । १ हजार ८० मिटर लम्बाई रहेको जिपलाइनको ६७ मिटरको उचाइ रहेको छ ।
जिपलाइनमा औषत १५ देखि २० मिटर प्रतिसेकेन्डमा तौल अनुसारको गति रहेको छ । सुरु स्टेशन देखि ल्याडिन्ङ हुने स्टेशनसम्म पुग्न अधित्तम ५५ देखि ७७ सेकेन्ड समय लाग्ने अनुमान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरीले बताए ।
जिपलाइनको ८६ लाख ७३ हजार १ सय ४४ रुपैयाँ लागतमा निमाृण भएको हो । लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपुरक बजेटमा सानु सेती देवी कन्ट्रक्सन प्रालिले निर्माण गरेको छ ।