महेश बोहरा, माघ २९ गुल्मी ।।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङ्ग पिपलपाटामा जनता बालनिकेतन माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको तेश्रो दिनका कार्यक्रमहरु सम्पन्न भएका छन । माघ २७ गते देखि सुरु भएको कार्यक्रमको तेश्रो दिनमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री धनेन्द्र कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । विगत ३ दिन देखि सञ्चालन भएको कार्यक्रममा खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु संचालन भएको साँस्कृतिक विभाग उपसमिति संयोजक प्रेम नारायण अर्यालले जानकारी दिनुभयो । आज भएको कार्यक्रममा अन्तर विद्यालय कक्षा १ देखि ५ सम्मको नृत्य प्रतियोगिता सम्पन्न भएको थियो ।
जसमा चन्द्रकोट गाउँपालिकाभरका विद्यालयहरु मध्ये ९ वटा विद्यालयले सहभागीता जनाएका थिए । जसमा चन्द्रकोट ८ मजुवाको पोलारिस ईंग्लिस बोडिङ्ग स्कुल प्रथम, बालबिकास आधारभूत विद्यालय कालिकागाउँ द्धितिय, जनज्योती आधारभूत विद्यालय भञ्जाङ्ग तृतिय र रामकोट आधारभूत विद्यालय रुपाकोट सान्तवना भएका छन । यस्तै आज भएको कार्यक्रममा राष्ट्रिय कलाकारहरु नारायण विपी परियार, प्रकाश गौतम अनि स्थानिय कलाकार अमिशा सुवेदी लगायतको प्रस्तुती रहेको थियो ।
यस्तै भोली पनि अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता संगै कलाकार रमेश विशुकर्मा र लालुमाया कुँवरको प्रस्तुती रहने विद्यालय स्रोतले जनाएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्दराम अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी लगायतको सहभागीता रहेको थियो । विद्यालयले स्वर्णमहोत्सव सफल पार्नका लागि आर्थिक अभियान समेत सञ्चालन गरेको प्रधानाध्यापक सुवास अर्यालले जानकारी दिनुभयो ।